ताजा समाचार

अपाङ्गता भएका नागरिकलाई पोषण कार्यक्रमको थालनी: त्रिपुरासुन्दरी–२रुमबाट सुरुवात

विष्णुप्रसाद देवकोटा

डाेल्पा ।त्रिपुरासुन्दरी नगरपालिका–२, रुममा अपाङ्गता भएका नागरिकहरूको पोषण अवस्थालाई मध्यनजर गर्दै विशेष पोषण सामग्री वितरण कार्यक्रमको शुभारम्भ गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका न्यायिक समितिको वार्षिक विनियोजित बजेटबाट सञ्चालित उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा ‘ग’ वर्गका १६ जना, ‘घ’ वर्गका ७ जना, ‘ख’ वर्गका ३१ जना र ‘क’ वर्गका ४ जना गरी जम्मा ६३ जना अपाङ्ग असक्त नागरिकलाई पोषण सामग्री वितरण गरिने कार्यक्रम रहेकाेमा यार्सागुम्बा सिजन र खेतीपातिकाे कामले गर्दा भाैतिक रुपमा उपस्थित भएका  ४३ जना अपाङ्गता  नागरिकलाई मात्र अण्डा र हर्लिक्स वितरण गरिएकाे थियाे ।अनुपस्थित २० जनालाई वितरण गर्ने गरि सम्बन्धित वडा बुझाइएको थियाे ।

कार्यक्रम अन्तर्गत प्रत्येक लाभग्राहीलाई एक क्यारेट अण्डा र एक पीस हर्लिक्स उपलब्ध गराइएको थियो। वितरण कार्य न्यायिक समिति सदस्य रणबहादुर बुढा,सितालक्ष्मी विक र  ज्ञानबहादुर बुढा लगायतले अपाङ्ग परिचयपत्रका आधारमा व्यवस्थित रूपमा सम्पन्न गरेका थिए।पाेषणयुक्त आहार वितरण कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी डाक्टर हेमन्त शाहीकाे समेत उपस्थिति रहेकाे थियाे ।

नगरपालिकाका उपप्रमुख तथा न्यायिक संयोजक देवी घर्तीका अनुसार, “यो कार्यक्रम त्रिपुरासुन्दरी नगरपालिकाका ११ वटै वडाका अपाङ्ग नागरिकलाई समेट्ने गरी चरणबद्ध रूपमा विस्तार गरिनेछ।”

हाल त्रिपुरासुन्दरी नगरपालिकामा ‘क’ वर्गका २८ जना, ‘ख’ वर्गका १४६ जना तथा ‘ग’ र ‘घ’ वर्गका गरी ६० जना अपाङ्ग नागरिक रहेको तथ्यांकले देखाएको छ। कुल २३४ जना अपाङ्गता भएका नागरिकलाई लक्षित गरी पोषण सामग्री वितरण गरिने योजना रहेको पनि उपप्रमुख घर्तीले जानकारी दिइन्।

स्थानीय तहमा अपाङ्गता भएका नागरिकप्रतिको संवेदनशीलता र सहानुभूतिपूर्ण पहुँच स्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमलाई सेवा उपयोगकर्ताहरूले सकारात्मक रूपमा लिएका छन्। त्रिपुरासुन्दरी नगरपालिका–२, रुमबाट सुरु भएको अभियानले अन्य वडाहरूमा समेत सामाजिक समावेशीता र पोषण सुरक्षाको उदाहरणीय अभ्यास हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया