विष्णुप्रसाद देवकोटा
डोल्पा, जेठ ३० – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री तथा डोल्पा जिल्ला प्रदेश सभा (क) का प्रतिनिधि माननीय शेर बहादुर बुढाको विशेष पहलमा डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाका ३५० घरधुरीमा सोलार वितरण गरिएको छ।
‘उज्यालो अभियान’ अन्तर्गत गाउँपालिकाका सबै ६ वटै वडाका विद्युत पहुँचविहीन बस्तीहरूमा सोलार वितरण गरिँदा स्थानीयवासी उत्साहित भएका छन्।
सोलार वितरण कार्यक्रम छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङको विशेष उपस्थितिमा सम्पन्न भएको हो। प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयमार्फत सञ्चालन गरिएको उक्त अभियानले दुर्गम भेगका नागरिकलाई उज्यालोको राहात पुर्याउने विश्वास गरिएको मन्त्री बुढाको सचिवालयले जनाएको छ।
बिजुली सुविधाबाट वञ्चित रहेका छार्का ताङसोङका बासिन्दालाई सोलार वितरणले दिगो ऊर्जा पहुँच दिलाउने मात्रै नभई, स्वास्थ्य, शिक्षा र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
स्थानीय सरकारका अनुसार, यो अभियान आगामी चरणमा पनि निरन्तरता दिइनेछ।

डोल्पा न्यूज । ३० जेष्ठ २०८२, शुक्रबार १२:११