ताजा समाचार

निकुञ्ज क्षेत्रमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माणमा सराेकारवालाकाे जोड

विष्णुप्रसाद देवकोटा 

डोल्पा, दुनै — शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाड डोल्पाको आयोजनामा तथा विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) नेपालको सहकार्यमा आयोजना गरिएको एक दिवसीय कार्यशालामा निकुञ्ज क्षेत्रभित्र पूर्वाधार निर्माण गर्दा वन्यजन्तु, जैविक विविधता र वातावरणप्रति संवेदनशील बन्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

पूर्वाधार विकास, प्राकृतिक स्रोत संरक्षण र वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८” सम्बन्धी उक्त कार्यशालामा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै डब्लु डब्लु एफ नेपालमा कार्यरत इन्जिनियर शोभा केसीले पूर्वाधार विकासका क्रममा वातावरणीय सन्तुलन कायम राख्दै प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले वातावरणीय प्रभाव मूल्याङ्कन मात्र पर्याप्त नहुने भन्दै योजना निर्माणको प्रारम्भिक चरणमै वातावरण र जैविक विविधताको संवेदनशीलता समेटिनुपर्ने धारणा व्यक्त गरिन्।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले “वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८” को कार्यान्वयनमार्फत पूर्वाधार विकासका क्रममा बन, वन्यजन्तु र जैविक विविधता प्रतिको असर न्यून बनाउन सकिने विश्वास व्यक्त गरे। उनले निकुञ्ज क्षेत्रमा अत्यधिक सवारी चाप, विकास गतिविधिका कारण जैविक प्रणालीमा पर्ने नकारात्मक असरप्रति चिन्ता व्यक्त गर्दै दिगो र संतुलित विकासको आवश्यकता औंल्याए।

कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले डोल्पा अहिले विकासको सुरुवाती चरणमा रहेको उल्लेख गर्दै, “डोल्पा अहिले विकासका हिसाबले भर्खर भात खाइरहेको अवस्थामा छ,” भन्ने उदाहरणीय शैलीमा आफ्नो धारणा राखे। उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयका माध्यमबाट जैविक विविधता, वातावरण र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिन जरुरी रहेको बताए। साथै, उनले भने, “सिर्फ वातावरणीय प्रभाव मूल्याङ्कनले पुग्दैन, सम्पूर्ण योजना वातावरणमैत्री र स्थानीय जनसमुदायमैत्री बनाउन आवश्यक छ।”

कार्यशालामा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढा, त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देवी घर्ती, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, संचारकर्मीहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

सहभागीहरूले विकास योजनाको प्रारम्भिक चरणमै वातावरणीय सरोकार समेटेर योजना निर्माण गरिनुपर्नेमा जोड दिएका थिए। प्रस्तुतिकरणहरू सरल र बोधगम्य हुनुपर्ने, यसलाई सजिलो भाषामा गाउँ-समाजमा पु¥याउने व्यवस्था गर्नुपर्ने माग पनि कार्यशालामा उठाइएको थियो।

डोल्पा जस्तो जैविक र सांस्कृतिक दृष्टिले संवेदनशील क्षेत्रको दीगो विकासका लागि पूर्वाधार योजनाहरू वन्यजन्तु र पर्यावरण मैत्री ढाँचामा निर्माण हुनु अत्यन्त आवश्यक छ। यस कार्यशालाले सरोकारवालाबीच सहकार्य, संवाद र सचेतना अभिवृद्धिमा योगदान पुर्याई  दीगो विकासका लागि एक सकारात्मक पाइला बन्ने अपेक्षा गरिएकाे छ।

तपाईको प्रतिक्रिया