ताजा समाचार

जेन्जी पुस्ताको तर्फबाट प्रधान सेनापतिलाई प्रस्ताव

डाेल्पान्युज संवाददाता

काठमाडौं भदौ २५ गते। जेन्जी पुस्ताले मुलुकको राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान पुनर्लेखनसम्मका माग राख्दै प्रधान सेनापतिलाई वार्ताका लागि औपचारिक प्रस्ताव पठाएको छ।

तीन दशक लामो भ्रष्टाचार, कुशासन र असफल नेतृत्वका कारण जनतामा गहिरो असन्तोष चुलिएको बताउँदै जेन्जी पुस्ताले शान्ति, स्थायित्व र नयाँ राजनीतिक व्यवस्थाको मागसहित आन्दोलनलाई निर्णायक चरणमा पुर्‍याएको जनाएको छ।

राष्ट्रपति र नेपाली सेनाले गरेको वार्ताको आह्वानलाई सकारात्मक स्वागत गर्दै उनीहरूले प्रस्तुत गरेका मुख्य प्रस्तावहरू यसप्रकार छन् :

अन्तरिम सरकार गठन : पुराना दलहरूको प्रभावभन्दा स्वतन्त्र, जेन्जी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार।

शान्ति र स्थायित्व : सम्पूर्ण हिंसात्मक गतिविधि अन्त्य, नागरिक सुरक्षाको ग्यारेन्टी र सुरक्षानिकायलाई जनसेवामा उन्मुख गराउने।

प्रतिनिधि सभा विघटन : जनविश्वास गुमाइसकेको भन्दै तत्काल विघटनको माग।

संविधान पुनर्लेखन/संशोधन : नयाँ पुस्ता, नागरिक र विशेषज्ञको सक्रिय सहभागितामा जनआकांक्षा प्रतिबिम्बित हुने संविधान।

नयाँ चुनाव : अन्तरिम अवधिपछि स्वतन्त्र, निष्पक्ष र प्रत्यक्ष जनसहभागितामा आधारित निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व।

त्यस्तै तत्काल गर्नुपर्ने कामका रूपमा गत तीन दशकमा लुटिएको सम्पत्तिको छानबिन, अवैध सम्पत्ति राष्ट्रियकरण, शिक्षा–स्वास्थ्यलगायत पाँच मूल संस्थाको पुनर्गठन, आन्दोलनका सहादत प्राप्तलाई “सहिद” घोषणा गरी परिवारलाई राहत दिने र बेरोजगारी तथा पलायन अन्त्यका विशेष कार्यक्रम ल्याउने योजना प्रस्तावमा उल्लेख छ।

“यो आन्दोलन कुनै दल वा व्यक्तिका लागि होइन, सम्पूर्ण पुस्ता र राष्ट्रको भविष्यका लागि हो। हामी शान्ति चाहन्छौं, तर त्यो शान्ति नयाँ राजनीतिक व्यवस्थाको आधारमा मात्र सम्भव छ,” जेन्जी पुस्ताका तर्फबाट जारी वक्तव्यमा भनिएको छ।

जेन्जी पुस्ताको तर्फबाट प्रस्ताव पठाउनेमा रवि किरण हमाल रहेका छन्।

तपाईको प्रतिक्रिया