काठमाडौं । प्रधानमन्त्रीको पालो कुरेर बसिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ बनेको समीकरण बिथोल्न भरमजदुर प्रयत्नमा छन् ।
नयाँ बनेको सत्तासमिकरणसँगै सत्ता विमुख हुन पुगेको काग्रेंसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै पनि हालतमा बहुमत नपुर्याउने प्रयत्न सुरु गरेको हो ।
यसैबीचमा काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको अफर गरेको समाचारहरू बाहिरिएका छन् ।
त्यस्तो देउवा यत्तिखेर माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । पत्नी आरजु राणासहित देउवा माधव नेपाल निवास पुग्नुलाई उनलाई नयाँ बनेको गठबन्धनमा जानबाट रोक्ने प्रयासको रुपमा बुझिएको छ ।
देउवाले हिजो राति ओलीलाई प्रधानमन्त्रीको अफर गर्न भ्याएको स्रोतको दाबी छ । देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सभापति रवि लामिछानेलाई पनि नयाँ बनेको समीकरणबाट सरकारमा जान हतार नगर्न आग्रह गरिरहेको छ ।
प्रचण्डबाट पालै पालो धोका पाएको भन्दै काग्रेंसले एमाले र काग्रेंस मिलेर जानुपर्ने भन्दै लबिङ सुरु गरेको हो । एमालेका उच्च नेतालाई कांग्रेसको उच्च नेतृत्वले फोन गरेरै देशको राजनीतिक स्थायित्व र अर्थतन्त्र जोगाउन पनि दुई पार्टी मिल्नुको विकल्प नभएकाले ओलीजी नै प्रधानमन्त्री बन्नुस्, दुई पार्टी मिलेर सरकार चलाऊ भन्ने प्रस्ताव गरेको बताइन्छ ।
एमाले र माओवादी दुवै पार्टीका नेताहरूले कांग्रेसको नयाँ कसरतबारे आफूहरूलाई कुनै जानकारी नभएको बताइरहेका छन् । कांग्रेसका नेताहरू पनि सार्वजनिकरुपमा बोल्दा भने आफूहरूले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउँदै आइरहेका छन् ।