विष्णुप्रसाद देवकोटा
डोल्पा, साउन १९ गते ।हिमाली जिल्ला डोल्पास्थित शे–फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०८१/०८२ मा बहुमूल्य जडिबुटी यार्सागुम्बा र पर्यटक प्रवेश शुल्कबाट गरी ३ करोड ६३ लाख ६० हजार ९६५ रुपैयाँ राजस्व संकलन गरेको छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार केवल यार्सागुम्बा संकलन अनुमति (पुर्जी), प्रवेश शुल्क र सेवा शुल्कबाट मात्र २ करोड ८४ लाख ८८ हजार ८०४ रुपैयाँ राजस्व उठाइएको हो। हरेक वर्ष जस्तै यसपालि पनि शे फोक्सुण्डो क्षेत्रबाट यार्सागुम्बा संकलनमार्फत करोडौं रुपैयाँ राज्यको ढुकुटीमा जम्मा हुँदै आएको छ।
यसका साथै, शे–फाेक्सुण्डाे निकुञ्जको भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत २१ लाख ७१ हजार ३६५ रुपैयाँ संकलन गरिएको छ। यो वर्ष ४ हजार ३ सय ५४ जनाले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्। तीमध्ये ३ हजार ८८२ जना नेपाली, २६ जना सार्क मुलुकका तथा ४ सय ४४ जना अन्य विदेशी पर्यटक रहेका छन्।
विश्वकै गहिरो र सुन्दर तालहरूमध्ये एक फोक्सुण्डो ताल, हिमाली संस्कृति, दुर्लभ वन्यजन्तु र औषधीय वनस्पतिका लागि प्रख्यात यो निकुञ्ज अझै पनि पर्यटक आकर्षणको प्रचुर सम्भावना बोकेको छ। तर, पर्यटक सुविधाका आधारभूत पूर्वाधारको अभावले यसको पूर्ण उपयोग हुन सकेको छैन।
पदमार्ग मर्मत र संकेत चिन्हहरू स्थापना,सूचना केन्द्र र मार्गदर्शन सुविधा, सुलभ र सुरक्षित आवास तथा खाना व्यवस्थापन, स्थानीय संस्कृति झल्किने पर्यटक स्वागत स्थल,दीगो पर्यटन प्रवर्धनका लागि स्थानिय जनसहभागिता अभिवृद्धि, हेलिकप्टर र प्राथमिक उपचार सेवा उपलब्ध गराउने पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्न सके शे–फोक्सुण्डो क्षेत्रलाई राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रियस्तरको प्रमुख पर्यटक गन्तव्य बनाउने सम्भावना प्रबल रहेको वरिष्ठ संरक्षण अधिकृत अर्याल बताउँछन्।
सुरक्षा, पहुँच, सेवा सुविधा, प्रचारप्रसार र वातावरणीय सन्तुलनलाई ध्यानमा राख्दै अगामी दिनमा निकुञ्जको योजनागत विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।

डोल्पा न्यूज । १९ श्रावण २०८२, सोमबार १६:३१