ताजा समाचार

बांकेकाे काेहलपुरमा यातायात ब्यावस्था कार्यालयकाे शाखा आज उद्घाटन हुदै

बांकेकाे कोहलपुरमा यातायात व्यवस्थाकाे शाखा कार्यालय उद्घाटन हुने भएको छ । आज एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले कार्यालय उद्घाटन गर्नु हुने भएकाे छ ।

नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुरमा स्थापना भएर आज उद्घाटन हुन लागेको हो । कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले यातायात शाखा कार्यालयको उद्घाटन मन्त्री न्यौपानेले गर्ने बताउनु भयाे। त्यसका लागि सबै तयारी पूरा भइसकेको उनले मिसन टुडेलाई जानकारी दिनु भयाे।

पुरानो बसपार्कस्थित भवनमा स्थापना भएको शाखा कार्यालयका लागि चाहिने सबै भौतिक पूर्वाधारहरू तयार पारिएका छन् । कार्यालयको रङरोगनदेखि विभिन्न कक्षहरू तयारी अवस्थामा छन् ।

शाखा कार्यालयमा तत्कालका लागि तीन जना कर्मचारीबाट सेवा सुचारु गरिने यातायात व्यवस्था कार्यालय नेपालगन्जका कम्प्युटर अधिकृत सतिशजंग शाहले बताउनु भयाे। उहाका अनुसार शाखा कार्यालयले ब्लुबुक, लाइसेन्स नवीकरण र पटके सेवा प्रदान गर्नेछ ।

‘हाललाई तीन जना कर्मचारीबाट सेवा सुचारु गर्ने योजना छ,’ उहाले भन्नु भयाे, ‘पछि कामको चाप र आवश्यकताका आधारमा कर्मचारी थपघट हुनसक्छन् ।’ कोहलपुर शाखा कार्यालयका लागि को–को कर्मचारी खटिने भन्ने निर्णय नभए पनि छैटौँ तहका अधिकृतको नेतृत्वमा कर्मचारी टोली परिचालित हुने उनले जानकारी दिए ।

उनका अनुसार शाखा कार्यालयबाट आफूलाई पायक पर्ने सेवाग्राहीले सेवा लिन सक्नेछन् । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमलगायत पायक पर्ने जुनसुकै स्थानका सेवाग्राहीले पनि यहाँबाट सेवा लिन सक्ने उनले जानकारी दिनु भयाे ।

कोहलपुरबाटै यातायातसम्बन्धी सेवा सुरु हुने भएपछि यसक्षेत्रका बासिन्दा हर्षित भएका छन् । विगतमा यातायातसम्बन्धी सानो कामका लागि पनि नेपालगन्ज धाउनुपर्ने यस क्षेत्रका बासिन्दाको बाध्यता अब अन्त्य हुने भएको छ ।

साथै कोहलपुरमा बनेको नयाँ बसपार्कबाट सबै सवारी साधन सञ्चालन हुन थालेपछि सुनसान बनेको पुरानो बसपार्क क्षेत्रमा यातायात कार्यालय स्थापनापछि यहाँ केही चहलपहल बढ्ने यहाँका व्यवसायीहरूको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!