✍️ विष्णुप्रसाद देवकोटा, 
डोल्पा | जेठ २५
जब देशका अधिकांश भूभागहरू असार १५ को प्रतीक्षा गर्दै ‘धान दिवस’ मनाउने तयारीमा जुटिरहेका छन्—हिलोमा रमाउँदै, गीत-नाचले खेत सजाउँदै—त्यही बेला डोल्पा भने वर्षौंदेखि मौन तरिकाले आफ्नो रोपाइँ सिञ्चाइमा व्यस्त हुन्छ। यहाँ रोपाइँ ‘दिवस’ होइन, धर्म हो—जीवनको मौन संगीत हो।
हिमालको काखमा अडिएको डोल्पा, जहाँ जीवन आफैँमा एक सन्तुलनको संघर्ष हो, त्यहाँ धान खेती पनि परिश्रम र परम्पराको गहिरो सहकार्य हो। जेठको पहिलो साताबाटै सुरु हुने यहाँको रोपाइँ, न त रमाइलोका लागि हो, न त तस्वीर खिच्न। यो त पुर्खाबाट चलेको धर्म, आवश्यकताको दस्तुर र मौनतामाथि टेकेको श्रमको आवाज हो।
पर्व होइन, परम्पराको पर्खाल
त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटमा रहेको ऐतिहासिक श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरको ‘गडामा’ रोपाइँ टुंग्याउने विशेष चलन छ। खेतहरू पोखराझैं समथर छैनन्, नत सजिलै पानी आउने स्रोत छ। तर पनि यहाँका किसान खेत खाली राख्दैनन्। उनीहरूका लागि रोपाइँ कुनै ‘मौसमगत शो’ होइन, हिउँ पग्लिएपछि सुरु हुने श्रमको श्रृंखला हो।
यहाँको बर्खा ढिलो सुरु हुन्छ, तर काम चाँडै थालिन्छ। चैत १२ गते नै बीउ खोलामा भिजाउने परम्परा छ। किनभने वर्षामा ढिलाइ भए पनि खेतीमा ढिलाइ गर्न मिल्दैन।
“धान त रोप्नै पर्छ”—किसानको आवाज
“धान त रोप्नै पर्छ,” भन्छन् त्रिपुरासुन्दरीका एक वृद्ध कृषक, “खेत खाली राख्न मिल्दैन, परम्परा हो। मष्टा देवी र त्रिपुरासुन्दरी मन्दिरमा चढाउने चामल लिन धान रोप्नु अनिवार्य छ।”
रोपाइँ यहाँ गीत होइन, मौनता हो। न हिलोमा रमाउने अवसर हुन्छ, न भाङको टपरी छ। तर जसरी हिमाल स्थिर भएर उभिन्छ, त्यस्तै गरी यी किसानका पाखुरा पनि मौन दृढतासाथ चलिरहेका हुन्छन्—बिउ मात्र होइन, जीवन उमार्न।
श्रम, सास्ती र सन्तुलन
डोल्पामा खेती गर्नु सजिलो छैन। त्रिपुराकाेटका प्रमानन्द देवकोटा पचास वर्षदेखि गडामा रोपाइँ गर्दै आएका छन्। उनी भन्छन्, “खोल्सामा बाँध हाल्नुपर्छ, कुलो सफा गर्न दिन लाग्छ, अनि बल्ल पानी आउँछ। त्यो पनि कहिले एकछिन पनि झर्दैन।”
यसरी कठिन मेहनतपछि पनि वर्षभरि खान पुग्ने उत्पादन हुँदैन। अधिकांश परिवारमा चामलले तीन महिना पनि पूरै खान पुग्दैन। बाँकी समय मकै, फापर, आलु र अन्य अन्नवालीमा निर्भर रहनुपर्ने बाध्यता छ।
देशका शहरहरूमा असार १५ ‘फोटो अफ द डे’ बन्छ। खेतमा हिलो खेलेर फोटो खिचिन्छ। तर डोल्पाका किसानका हात हिलाम्मे भए पनि मोबाइल सूनसान हुन्छ। तस्बिर छैन, तर कथा छन्—पसिनाको, श्रमको र प्रतिवद्धताको।
मोतिप्रसाद हमाल, एक स्थानीय युवा भन्छन्, “काठमाडौँमा असार १५ मा फोटो खिच्न खेत जान्छन्, हामी खेत बचाउन खेत जान्छौं। हामीलाई रोपाइँ पर्व होइन, बाँकी जीवनसँग बाँध्ने डोरी हो।”
एक हजार वर्ग मिटर क्षेत्रफलमा धान खेती गर्दा औसत लागत झन्डै १५ हजार रुपैयाँ सम्म खर्च गर्नु पर्छ।गोरु वा ट्र्याक्टर जोत्ने खर्च: २–३ हजार बिउको मूल्य: ३ हजारमजदुरी (रोपाइँ, भित्र्याउने): न्युनतम ६ हजार सिंचाइ, कुलो मर्मत: २ हजार अन्य (मल, औजार): ६ हजार
तर यस खर्चको सट्टामा उत्पादन जम्मा १.५ देखि २ क्विन्टल (१५०–२०० किलोग्राम) मात्र हुने गर्छ। यो परिमाण एक परिवारका लागि वर्षभरि खानका लागि पर्याप्त हुँदैन। किसानहरू भन्छन्, “बिक्री गर्ने त कुरै छैन, जोगाउन पनि गाह्रो छ।”
मौन रोपाइँको संगीत
डोल्पाको रोपाइँ कुनै सार्वजनिक उत्सव होइन—यो एक मौन अनुशासन हो। बर्खाको अनिश्चितता, पानीको अभाव र कष्टकर भूगोलबीच पनि किसानहरू रोपाइँको धर्म निभाउँछन्।
जसरी हिमाल चुपचाप उभिन्छ, त्यस्तै यी किसानका पाइलाहरू रोपाइँको बाटो हिँडिरहेका छन्—बिना तामझाम, तर गहिरो आत्मिक श्रद्धासहित। यहाँको मौनता नै एउटा संगीत हो—जहाँ पसिनाको तालमा जीवनको बीउ रोपिन्छ।
डोल्पाको धान रोपाइँ कुनै दिनविशेषको उत्सव होइन—यो परम्परा हो, पुर्खाले लगाएको धर्म हो, अनि आजका पुस्ताले जारी राखेको जीवनसंघर्ष। जब देशले असार १५ को तयारी गर्छ, डोल्पा त्यहीबेला खेतमा पसिना चुहाइसकेको हुन्छ।
शहरले जुन धान रोपाइँलाई ‘दिवस’ बनाउँछ, डोल्पाले त्यसलाई ‘धरोहर’ बनाएको छ—शब्दमा नभए पनि श्रममा, मौनतामा र निरन्तरतामा।
डोल्पामा धान खेती विश्वास, परम्परा र श्रमको गहिरो कथामात्र हाेइन धार्मिक पर्यापर्यटन  स्थानीय धान संस्कृति पनि हाे ।यसलाई समयकाे माग अनुरुप नवीन प्रविधि मैत्री बनाउन सके संरक्षणका साथै प्रवर्द्धनमा सहयाेग पुग्ने छ ।
यसतर्फ जिल्ला कृषि विकास कार्यालयले विशेष ध्यान पुर्याउन आवश्यक छ ।त्यसैगरी धान उत्पादानलाई निरन्तरता दिदै आएका डाेल्पाका विभिन्न स्थानहरु जस्ताे त्रिपुरासुन्दरी नगरपालिकाकाे त्रिपुराकाेट,लिकु,खदाङ,ठुलिभेरीकाे माेतिपुर,डांगीवाडा ,जुफाल र उपल्लाे दुनैमा कालाे र राताे मार्सि धान खेतीलाई जिवन्तकाल सम्म कायम राख्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना र स्वयम् कृषि विकास कार्यालयले सुपर धान जाेन कार्यक्रम लागू र कार्यान्वयनमा गर्ने कार्यमा ढिलाई किन ?

डोल्पा न्यूज । २५ जेष्ठ २०८२, आईतवार १३:३८