काठमाडौँ । ठुलिभेरीनगरपालिका-३ दुनैमा खेलकुद मैदान तथा कभर्डहल निर्माणमा अनियमितता भएकाे ठहर गर्दै तत्कालीन कार्यालय प्रमुख र उपभोक्ता समितिका पदाधिकारी सहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेतका ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे।गैह्र कानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्द अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेकाे हो ।
ठूलीभेरी नगरपालिका-३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारको दाबी छ ।
अख्तियारले कार्यालय प्रमुख आचार्यसहित सब–इन्जिनियर मोतीप्रसाद बुढा र डीपीआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति दुनै डोल्पाका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीलाई पनि प्रतिवादी बनाएको छ ।
खेल मैदान निर्माणका क्रममा २०७६-०७७ मा लागत अनुमान र सम्झौता उल्लिखित कामभन्दा फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९ सय ४० रुपैयाँ बराबरको झुट्टा बिल भरपाई बनाइ गैरकानुनी लाभ र हानी पुर्याउने बदनियतले भुक्तानी दिने/लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन ।उनीहरूविरुद्ध ९ लाख ९३ हजार ९४० रुपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको छ।