विष्णुप्रसाद देवकोटा
डोल्पा, जेष्ठ ४ – डोल्पाको दुनैमा सडक दुर्घटना न्यूनीकरण तथा सर्ने र नसर्ने रोगबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।स्वास्थ्य सेवा कार्यालय डोल्पाले आयोजना गरेको कार्यक्रम स्वास्थ्य सेवा कार्यालयकै तालिम हलमा सम्पन्न भएको हो।
अहिले सम्म २१ जना सडक दुर्घटनाका पीडित जिल्ला अस्पतालमा आएर उपचार गरेकाे तथ्यांक सार्वजनिक गरिएको थियो। त्रिपुरासुन्दरीमा २५ जिल्ला अस्पतालमा २६ जना गरि ५२ जना मधुमेहका बिरामी नियमित उपचारमा रहेको जानकारी पनि दिइयो। डाेल्पामा क्यान्सरका बिरामी भने शून्य रहेको उल्लेख गरियो।
यसरी हेर्दा अस्पताल पुग्ने बिरामीमध्ये महिलाको संख्या पुरुषभन्दा बढी देखिएको कार्यक्रममा जानकारी दिइएकाे थियाे।कार्यक्रममा बोल्दै डा. अजय पाण्डेले सर्ने र नसर्ने रोगहरु मध्पेमा केही प्रतिनिधिमूलक राेगहरुकाे बारे जानकारी दिनुभयो।
उहाँले क्षयरोग, कुष्ठरोग, दम, मधुमेह जस्ता रोगहरूको पहिचान, लक्षण र रोकथामका उपायबारे जानकारी दिनुभयो। “दुई हप्ता भन्दा बढी खोकी लागे परीक्षण गराउनु जरूरी छ,” डा. पाण्डेले भन्नुभयो, “ज्वरो, तौल घट्नु, गाठागुठी देखिनुजस्ता लक्षण देखिएमा क्यान्सर राेग पनि हुन सक्छ परीक्षण गर्न ढिलो गर्नु हुन्न।

कार्यक्रममा वरिष्ठ ट्राफिक हवल्दार विष्णुबहादुर थापाले ट्राफिकको तर्फबाट सडक दुर्घटनाको अवस्था, कारण र न्यूनीकरणका उपायबारे जानकारी दिनुभयो।
उहाँका अनुसार, हाल भइरहेका दुर्घटनामध्ये ८० प्रतिशत चालकको लापरवाही र २० प्रतिशत इन्जिनका समस्या कारण हुने गरेका छन्। “सबै जिम्मा ट्राफिकलाई दिँदा मात्र दुर्घटना कम हुँदैन, सवारी धनीले असल चालक राख्नुपर्छ,” थापाले भन्नुभयो, “चढ्दा र झर्दा सावधानी अपनाउनुपर्छ, आखिर सहज र सरल दुई बाटा छन् – आर्यघाट या अस्पतालको बेड ।

कार्यक्रममा सवारी चालक, सवारी धनी, ट्राफिक प्रहरी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले सडक सुरक्षा र जनस्वास्थ्यको विषयमा महत्त्वपूर्ण जानकारी दिएको बताए ।

डोल्पा न्यूज । ४ जेष्ठ २०८२, आईतवार १७:४७