डोल्पा — डोल्पाको ठाँगे लेक फेरि यार्सागुन्जाको रणभूमिमा परिणत भएको छ। शनिबार दिउँसो काइके गाउँपालिका–२ र ठुलिभेरी नगरपालिका–१ थालाका स्थानीयबीच यार्सा संकलनको सन्दर्भमा भएको सीमा विवादले हिंसात्मक रुप लिएपछि दोहोरो ढुंगा प्रहार भएको हो।
भीरबाट एक अर्कामाथि ढुंगा खसाल्दै आक्रोश पोखिरहेका दुई समूहबीचको झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गर्नुपरेको डोल्पा प्रहरी निरीक्षक मनिष थापाले जानकारी दिए। उनका अनुसार “कसले कहाँसम्म यार्सा संकलन गर्ने?” भन्ने विषय विवादको मूल कारण बनेको हो।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार यो दुई गाउँबीचको सीमा विवाद नयाँ होइन—विगत धेरै वर्षदेखि ठांगे यार्सा पाटनमा अधिकारको दाबी गर्दै आएका यी दुवै पक्ष यार्साको सिजन सुरु हुनेबित्तिकै आमनेसामने हुने गरेका छन्। अन्य समयमा खासै विवाद नदेखिए पनि यार्सा संकलनकै बेला ठांगे लेक तनावको केन्द्रबिन्दु बन्ने गरेको छ।
यस्तो अवस्थामा प्रशासनले विवाद समाधानका लागि दीर्घकालीन उपाय खोज्नु अपरिहार्य देखिएको छ। यार्साको मोह र सीमाको स्वामित्वको लडाइँले स्थानीय समुदायमा निरन्तर कटुता बढाउँदै लगेको चिन्ता समेत व्यक्त हुन थालेको छ।

डोल्पा न्यूज । १० जेष्ठ २०८२, शनिबार १९:३०