विष्णुप्रसाद देवकोटा
त्रिपुरासुन्दरी, बैशाख ३१ – डोल्पाको सबैभन्दा ठूलो स्थानीय तह त्रिपुरा सुन्दरी नगरपालिकाले अनलाइन प्रणालीमार्फतै राष्ट्रिय परिचयपत्र नम्बर वितरण सुरु गरेको छ। ७९ वर्षीया वृद्धालाई नम्बर प्रदान गर्दै यो सेवा बुधवारबाट औपचारिक रूपमा सुरु गरिएको हो।
नगरप्रमुख जनचन्द्र रोकायाले अनलाइन विवरण भरेर पहिलो परिचयपत्र नम्बर हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे। उनले भने, “जनताको सेवाका लागि खर्चको चिन्ता छैन, सुविधा पुग्नुपर्छ।”
यस कार्यको लागि आवश्यक पर्ने इन्टरनेट उपकरण र आर्थिक स्रोत नगरपालिका आफैंले व्यवस्था गरेको हो भने, व्यक्तिगत विवरण सुरक्षाका लागि चाहिने नेटवर्किङ्ग डिभाइस राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले उपलब्ध गराएको जानकारी दिइयो।
डोल्पाको ११ वटै वडामा अनलाइन विवरण भर्ने कार्यका लागि असार २५ सम्मको समय तोकिएको छ। प्रत्येक वडामा ५ दिनको समय छुट्याइएको छ। उपप्रमुख देबी घर्तीले भने, “नागरिकले सेवा नपाएसम्म नियमितरूपमा निरन्तर सेवा प्रवाह हुनेछ।”
प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतका अनुसार, सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन र पालिकाको सहकार्यमा यो सेवा स्थानीय तहमै उपलब्ध गराइएको हो। हालसम्म जगदुल्ला र मुड्केचुला गाउँपालिकामा यो सेवा सम्पन्न भइसकेको छ भने अब तल्लो डोल्पाको काईके मात्रै बाँकी रहेको र माथिल्लो डोल्पामा चुनौती रहेको जनाइएको छ।
नगरप्रमुख रोकायाले अब चाँडै नागरिकता, मतदाता नामावली र परिचयपत्र दिने एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागिएको पनि जानकारी दिए।
यो पहलले दुर्गम डोल्पाका नागरिकलाई सेवा पहुँचमा ल्याउनेतर्फ ठूलो कदम चालेको छ।

डोल्पा न्यूज । ३१ बैशाख २०८२, बुधबार १८:०१