विष्णुप्रसाद देवकोटा
डाेल्पा,( छेप्का बजार)। फाेक्सुण्डाे तालतर्फ जाने प्रमुख पर्यटकीय पदमार्गमा पर्ने छेप्का बजार यतिबेला स्थानीय महिलाहरूको सक्रियताले सफा बन्दैछ। बालकुमारी गुरुङको अध्यक्षतामा गठित ‘आरुडाला महिला समूह’ ले बजार क्षेत्र तथा आसपासका बाटाहरूको सरसफाइमा उल्लेखनीय पहल थालेका छन्।
समूहले पर्यटकहरूबाट फालिएका प्लास्टिकजन्य फोहोर वस्तुहरू संकलन गरी जलाउने, गाड्ने तथा सचेतनामूलक सन्देशहरू प्रवाह गर्ने कार्यसमेत गर्दै आएको छ। “हामीलाई थाहा छ—यो पदमार्ग विदेशी र स्वदेशी पर्यटकहरूको मुख्य गन्तव्य हो। यस क्षेत्रलाई सफा, स्वच्छ र आकर्षक राख्न सरसफाइलाई प्राथमिकता दिएका छौं,” अध्यक्ष गुरुङ भन्छिन्।
उक्त अभियान अन्तर्गत प्रत्येक सातामा एकपटक सरसफाइ गरिन्छ। यसका लागि महिलाहरू बिहानैदेखि हातमा कुचो, बोरा र हातपञ्जा लिएर सडकछेउका फोहोर संकलनमा खटिन्छन्। छेप्काको सडक किनार, विश्रामस्थल तथा खोल्सातिर फालिएका प्लास्टिक, बोतल र कुहिने न कुहिने फोहोर अलग छुट्याएर व्यवस्थापन गरिन्छ।
स्थानीय युवासमेत सहभागी हुन थालेपछि अभियान अझ सशक्त बन्दै गएको छ। “यो हाम्रो गाउँ हो, हाम्रो जिम्मेवारी पनि हो,” एक स्थानीय महिलाले भनिन्, “हामीले सफा राख्न सके पर्यटकहरू पनि सन्तुष्ट हुन्छन्, फेरि आउन चाहन्छन्।”

डोल्पा न्यूज । १ असार २०८२, आईतवार ०९:३६