ताजा समाचार

डोल्पाको मरिम्ला नाकामा प्रमुख जिल्ला अधिकारीको ऐतिहासिक उपस्थिति

विष्णुप्रसाद देवकोटा

डोल्पा, साउन ५ ।नेपाल–चीन सिमास्थित मरिम्ला नाकामा पहिलोपटक जिल्ला प्रशासन प्रमुखको ऐतिहासिक पाइला पुगेको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोम बहादुर महतको नेतृत्वमा जिल्ला सुरक्षा संयन्त्र सहितको टोलीले माथिल्लो डोल्पाको १५ नम्बर सिमा स्तम्भसम्मको पाँचदिने कठिन पदयात्रा सम्पन्न गरी स्थलगत अनुगमन गरेको हो।

सुरक्षा निरीक्षण, सिमा व्यवस्थापन तथा नागरिक सेवाप्रति सरकारको उपस्थिति अनुभूत गराउने उद्देश्यका साथ गरिएको यस भ्रमणमा डोल्पो बुद्ध गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रुक बहादुर खड्का सहभागी थिए। चिनियाँ सिमासँग जोडिएको यस दुर्गम व्यापारिक नाका पुग्नु प्रजिअको पहिलो भ्रमण मात्र नभई, नागरिक र राज्यबीचको दूरी मेट्ने असल उदाहरण समेत बनेको छ।

प्रजिअ महतले भने, “डोल्पोलाई बुझ्न, देख्न र महसुस गर्न कागज होइन, पाइला टेक्नु जरुरी छ। यो भ्रमण केवल प्रशासनिक औपचारिकता थिएन, जनताको दुःख बुझ्ने र सरकार नजिक छ भन्ने अनुभूति गराउने अवसर थियो।”

सेवा घरदैलोमै, सरकारको आत्मीय उपस्थिति

भ्रमणको क्रममा मरिम्ला नाका क्षेत्रमा गृह मन्त्रालयबाट प्रदान गरिने सेवा अन्तर्गत ‘राष्ट्रिय परिचयपत्र वितरण’ तथा ‘चीन प्रवेश–निर्गमन पास वितरण शिविर’ समेत सम्पन्न गरियो। यस शिविरबाट ७९७ जनाले राष्ट्रिय परिचयपत्र र १५४ जनाले चीन प्रवेश पास प्राप्त गरेका छन्।

सदरमुकाम दुनै पुग्न नसक्ने माथिल्लो डोल्पाबासीका लागि यस्ता सेवा गाउँमै पुगेर प्रदान गर्नु सरकार जनतासम्म आइपुगेको ऐतिहासिक उदाहरण बनेको छ। स्थानीयहरू भन्छन्, “हामीले सरकारलाई महसुस गर्न पायौं, केवल कागजमा होइन, व्यवहारमै सेवा अनुभव गर्यौं।”

सुरक्षा संयन्त्रको सक्रियता र सम्मान

डिएसपी खड्काको नेतृत्वमा रहेको सुरक्षाप्रहरी टोलीले दुर्गम, जोखिमपूर्ण भौगोलिक अवस्थालाई मात दिँदै मरिम्ला नाकासम्मको यात्रामा अनुशासित र निःस्वार्थ सेवा प्रदर्शन गरेका थिए। डोल्पो बुद्ध गाउँपालिकाले नेपाल प्रहरीको सक्रियता र समर्पणप्रति विशेष सम्मान तथा आभार व्यक्त गरेको छ।

डिएसपी खड्का भन्छन्, “सीमित स्रोत र विषम अवस्थाबीच पनि जनताको सुरक्षाको प्रत्याभूति दिन सकियो, जनताले हाम्रो उपस्थिति महसुस गरे।”

भविष्यका लागि सम्भावना र चुनौती

मरिम्ला नाका हाल अस्थायी रूपमा व्यापारिक प्रयोजनका लागि कहिलेकाहीँ खुल्ने गरे तापनि स्थायी सञ्चालनको लागि पूर्वाधार विकासको खाँचो रहेको प्रजिअ महतको निष्कर्ष छ। सिमा स्तम्भ अनुगमन, जनगुनासो संकलन, धार्मिक-सांस्कृतिक स्थलको अवलोकन, र कर्मचारी अवस्थाको प्रत्यक्ष अवलोकनले माथिल्लो डोल्पाको विकास र सेवाप्रवाह रणनीति पुनः सोच्नुपर्ने संकेत दिएको छ।टोली तिन्जे हुँदै शे–फोक्सुण्डो गाउँपालिका पुगेर फर्किने तयारीमा रहेको छ।यस ऐतिहासिक भ्रमणले डोल्पाको उत्तर–सिमावर्ती क्षेत्रलाई मात्रै होइन, सिङ्गो प्रशासनिक प्रणालीलाई पनि सरकार जनताको ढोका–ढोका पुग्न सक्छ भन्ने सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया