ताजा समाचार

देउवाले डाके पदाधिकारी बैठक : गृहमन्त्री लेखकको भूमिकामाथि कांग्रेसभित्र तीव्र मन्थन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे गम्भीर छलफल गर्न सोमबार पदाधिकारी बैठक आह्वान गरेका छन्। सभापति निवास बुढानीलकण्ठमा बस्ने उक्त बैठकमा गृहमन्त्री लेखकको भूमिकाबारे पार्टीभित्रको धारणा, सम्भावित निर्णय र आगामी रणनीति तय गरिने कांग्रेस स्रोतले जनाएको छ।

पार्टीका एक वरिष्ठ पदाधिकारीका अनुसार बैठकको प्रमुख एजेन्डा गृह मन्त्रालय मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा र त्यसपछि बढेको शंका गृहमन्त्री लेखकसम्म पुगेपछि उत्पन्न परिस्थिति हो। “अब पार्टीको गरिमा बचाउन लेखकको भूमिकाबारे निर्णय गर्नुपर्ने अवस्था आएको छ,” ती पदाधिकारीले बताए।

गृह मन्त्रालयअन्तर्गत अध्यागमन प्रमुख तीर्थराज भट्टराई नियन्त्रणमा लिएर डिभाइस जफत गरेपछि अख्तियारको अनुसन्धानको दायरा लेखकसम्म फैलिएको छ। यसले कांग्रेसभित्र मन्त्री लेखकले पद छाड्नुपर्ने कि जिम्मेवारीमै रहनुपर्ने भन्ने बहसलाई तीव्र बनाएको छ। कतिपय नेताहरूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने धारणा राखेका छन् भने अर्का धारले अनुसन्धान नसकिँदासम्म निष्कर्षमा नपुग्न सुझाव दिएका छन्।

बैठकमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी विषयसमेत समावेश हुनेछ। त्यसबारेमा व्यवस्थापन समितिका संयोजक तथा महामन्त्री गगन थापाले पदाधिकारीहरूलाई विस्तृत जानकारी गराउने छन्। मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठकमा सदस्यता नवीकरणको प्रगति, चुनौती र आगामी कार्यदिशामाथि पनि थापा ब्रिफिङ दिनेछन्।

भिजिट भिसा प्रकरणले सत्ता गठबन्धन मात्र होइन, कांग्रेसको आन्तरिक एकतालाई पनि चुनौती दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। सभापति देउवाको नेतृत्वमा बस्ने बैठकबाट गम्भीर राजनीतिक सन्देश आउन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया