ताजा समाचार

नेट नपुगेका गाउँमा डिजिटल सपना : मन्त्री गुरुङले दिए साथको आश्वासन

सुर्खेत । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली प्रदेश सरकारले अघि सारेको ‘डिजिटल कर्णाली’ अभियानमा संघीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो कार्यालयको उद्घाटन गर्न सुर्खेत आएका मन्त्री गुरुङले कर्णालीलाई डिजिटल बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणमा केन्द्र सरकारको सहयोग रहने स्पष्ट पारे।

हाल कर्णालीमा अझै पनि फोन गर्न डाँडाकाँडा वा रुख चढ्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो अवस्थामै ‘डिजिटल कर्णाली’ कार्यक्रम सुरु गर्नु चुनौतीपूर्ण भएको उल्लेख गरे। राजधानी वीरेन्द्रनगरमै समेत इन्टरनेट सुविधा सहज नभएको सन्दर्भ उठाउँदै उनले भने, “वडा–वडामा इन्टरनेट सेवा नपुगेसम्म डिजिटल कर्णाली सम्भव छैन।”

उनले गाउँ–गाउँमा इन्टरनेट सुविधा विस्तार, संचार टावरको निर्माण जस्ता पूर्वाधार विकास अनिवार्य रहेको उल्लेख गरे। मन्त्री गुरुङले डिजिटल कर्णाली अभियान सकारात्मक भएको भन्दै संघीय सरकारले यसलाई सार्थक बनाउन आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले निकट भविष्यमा प्रत्येक प्रदेशमा डेटा सेन्टर सञ्चालनमा ल्याइने पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया