ताजा समाचार

डाेल्पाकाे जगदुल्लामा महिलाको नेतृत्वमा नमूना ढल निकास योजना : ७८ घरधुरी लाभान्वित

विष्णुप्रसाद देवकोटा

डोल्पा,जेष्ठ २६ गते । विकास निर्माणको क्षेत्रमा लैङ्गिक समानताका लागि नयाँ आयाम स्थापित गर्दै डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकामा पहिलोपटक महिलाको पूर्ण सहभागितामा योजना कार्यान्वयन अगाडि बढाइएको छ।

गाउँपालिका–२ स्थित काइगाउँ बजारमा निर्माण भइरहेको ढल निकास योजना महिलाको सक्रिय नेतृत्वमा अगाडि बढाइएको हो। यो योजना जगदुल्ला गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याएका १७ विकास आयोजनामध्ये ‘नमूना आयोजना’को रूपमा चयन गरिएको छ।

उक्त योजनाको नेतृत्व उपभोक्ता समितिकी अध्यक्ष लक्ष्मी बुढाथोकीले गर्दै आएकी छन्। महिला नेतृत्वलाई सशक्त बनाउन गाउँपालिकाले विशेष कार्यविधि निर्माण गर्दै महिलाको सहभागिता सुनिश्चित गरेको हो।

स्थानिक पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत प्रविधिक सहयोगमा सञ्चालन भएको योजनाबाट ७८ घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ। योजनामा कार्यरत २० जना महिला श्रमिकले ४० दिनसम्म रोजगारी प्राप्त गर्दै आर्थिक सशक्तिकरणको अवसरसमेत पाएका छन्।

गाउँपालिकाकी उपाध्यक्ष अमृता लामाका अनुसार, उपभोक्ता समिति गठनदेखि कार्यान्वयनसम्म महिलाको अग्रणी सहभागिता सुनिश्चित गर्दै परम्परागत ‘महिलालाई पछाडि पार्ने’ धारणामा ठोस चुनौती दिइएको हो।

“योजना सम्पन्न भएपछि धाराको पानी र घरको फोहोर पानीलाई व्यवस्थित गर्ने व्यवस्था मिल्नेछ,” उपाध्यक्ष लामाले भनिन्, “यसले स्वच्छ, स्वस्थ र वातावरणमैत्री समुदाय निर्माणमा सहयोग पुर्‍याउनेछ।”

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि उपभोक्ता समिति गठनदेखि योजना कार्यान्वयनसम्म समावेशीता, पारदर्शिता र महिलाको सहभागितालाई प्राथमिकतामा राख्दै नयाँ कार्यविधि पारित गरेको छ।

जगदुल्लाको काइगाउँ बजारमा अघि बढाइएको ढल निकास योजना केवल पूर्वाधार विकासको परियोजना मात्र नभई, महिला सशक्तिकरण र समावेशी विकासतर्फको ऐतिहासिक कदमका रूपमा चिनिएको छ।

तपाईको प्रतिक्रिया