ताजा समाचार

कर्णालीको आर्थिक समृद्धिको आधार कृषि हो – मुख्यमन्त्री कँडेल

विष्णुप्रसाद देवकोटा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन्।

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै उनले आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कँडेलले भने, “हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं, तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ।”

उनले कर्णालीको भौगोलिक अवस्था विशिष्ट कृषि उत्पादनका लागि अनुकूल रहेको भन्दै वैज्ञानिक व्यवस्थापनबाट रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने बताए।

कृषक पञ्जिकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ तथा मलको वितरण, तालिम र सिँचाइ पूर्वाधारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको उनले उल्लेख गरे।

कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिक, संघ–संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया