विष्णुप्रसाद देवकोटा
डोल्पा, साउन १४ ।डोल्पाको सदरमुकाम दुनैस्थित जैरिगाड साना जलविद्युत केन्द्र एक्कासि बन्द भएको केही घण्टामै अस्थायी रूपमा पुनः सञ्चालनमा आएको छ।
आज बिहान करिब ७० किलोवाट विद्युत् उत्पादन गर्दै आएको केन्द्रको मुख्य युनिटको जेनेरेटर मेसिनको भित्रि क्वायल जलेर आगलागी भएपछि विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको थियो।
विद्युत सेवा अवरुद्ध भएसँगै डुनै बजार, सरकारी तथा निजी कार्यालय, व्यापारिक प्रतिष्ठान र करिब २ हजारभन्दा बढी उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका थिए।
केन्द्रका प्रमुख धर्मपति यादवका अनुसार, विगतदेखि बिग्रिएर थन्किएको भनिएको १०० किलोवाट क्षमताको अर्को युनिटलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो। दिनभरको प्रयासपछि साँझ ५ बजेदेखि विद्युत सेवा अस्थायी रूपमा सुचारु गरिएको उनले जानकारी दिए।
वि.सं. २०५६ सालमा स्थापना भएको २०० किलोवाट क्षमताको यो केन्द्र दैनिक मर्मत अभाव र सरकारी बेवास्ताका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ।
यसबाहेक, रुकुम पश्चिमबाट डोल्पातर्फ आउने राष्ट्रिय प्रसारण लाइन पनि हिजोको भारी वर्षाले अवरुद्ध भएको केन्द्रले जनाएको छ। हाल मर्मत कार्य जारी रहेको छ।

डोल्पा न्यूज । १४ श्रावण २०८२, बुधबार १७:५६