ताजा समाचार

ठुलीभेरीका विद्यालयमा ई-पुस्तकालयको क्रान्ति

विष्णुप्रसाद देवकोटा

डाेल्पा । सूचना प्रविधिको विस्तारसँगै डोल्पाको ठुलीभेरी नगरपालिकाले शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ। नगरभित्रका सबै सामुदायिक विद्यालयहरूमा ई-पुस्तकालयको स्थापना गरी डिजिटल शिक्षाको नयाँ युगको सुरुवात गरिएको हो।

सूचना प्रविधिको पहुँच बढाउँदै बालबालिकाको सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले स्वलगानी तथा विभिन्न दातृ संस्थाहरूको सहयोगमा ई-पुस्तकालय विस्तारको अभियान अघि बढाएको छ।

गत आर्थिक वर्षमा विशेष अनुदानमार्फत कम्प्युटर, ल्यापटप र प्रिन्टर जस्ता न्यूनतम उपकरणहरू वितरण गरिएका थिए। ती मध्ये ई-पुस्तकालयको पहुँच नभएका १४ वटा विद्यालयमा सर्भर, राउटर र आवश्यक प्रविधियुक्त सामग्री उपलब्ध गराइसकिएको छ।

यसबाहेक विगतमा नै साझेदार संस्था प्लान इन्टरनेशनल नेपाल, समाज जागरण केन्द्र नेपाल, साझा ई-पाटी नेपाल तथा बेल्जियम नेपालको सहकार्यमा केही विद्यालयहरूमा ई-पुस्तकालय जडान भइसकेको थियो।

नगरपालिकाले साझेदार संस्था साझा ई-पाटी नेपाल र डोपो हिमालयन एजुकेशन रिसर्च सेन्टरसँगको सहकार्यमा इ-पुस्तकालयको प्रयोग, व्यवस्थापन र सञ्चालनसम्बन्धी तालिम सम्पन्न गरिसकेको छ। तालिममा सहभागी १४ वटा विद्यालयका सूचना प्रविधि शिक्षकहरूलाई प्रशिक्षित गरिएको प्रशिक्षक भरत बोहोराले जानकारी दिनु भयाे।

इन्टरनेट पहुँच अभाव रहेको डोल्पा जस्तो दुर्गम क्षेत्रका विद्यालयहरूमा अफलाइन माध्यमबाट संचालन गर्न मिल्ने ई-पुस्तकालय स्थापना भइकन बालबालिकाले हजारौं डिजिटल पुस्तक, सन्दर्भ सामग्री, अडियो-भिडियो तथा इन्टरएक्टिभ शैक्षिक सामग्रीहरूको पहुँच पाउने भएका छन्। यसले बालबालिकामा सिकाइको अभिरुचि बढाउने विश्वास गरिएको छ।

नगर प्रमुख श्वर्ण कुमार बुढाले शिक्षामा गुणस्तर सुधारको आवश्यकता औंल्याउँदै भन्नु भयाे “स्थानीय सरकार शिक्षामा लगानी गर्न पछि पर्दैन, तर बालबालिकाले गुणस्तरीय शिक्षा पाउनैपर्छ।”

साझा ई-पाटी नेपालका प्रतिनिधि टिकाराज कार्कीले प्राविधिक सहायता र सहयोगमा सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयाे।

ठुलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायाले भन्नु भयाे “हामी शिक्षामा सुधार गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पनि प्रतिस्पर्धी बनाउने लक्ष्यमा दृढतापूर्वक अघि बढिरहेका छौं।”

ई-पुस्तकालयको यो अभियानले डोल्पाका शिक्षा क्षेत्रमा नवप्रवर्तनको आधारशिला राख्ने विश्वास नगरवासीले लिएका छन्।

तपाईको प्रतिक्रिया