ताजा समाचार

माथिल्लो डोल्पाको विकास मोडालिटीबारे पुनर्विचार आवश्यक:पेमावाङ्छेन गुरुङ्ग

भौगोलिक रूपमा विशाल रहेको डोल्पा जिल्ला प्राकृतिक स्वरूपका आधारमा माथिल्लो र तल्लो दुई भागमा विभाजित छ। माथिल्लो डोल्पामा तीन वटा र तल्लो डोल्पामा पाँच वटा गरी आठ वटा स्थानीय तह रहेको यस जिल्लाले, संघीयता प्राप्तिपछि विकासको अवसर पाए पनि, विकासको गतिमा असमानता स्पष्ट देखिएको छ।

विशेष गरी माथिल्लो डोल्पाका स्थानीय तहहरूले भौगोलिक दुर्गमता र प्राकृतिक सीमितताका कारण जनताको आवश्यकता अनुसार सेवा प्रवाह र पूर्वाधार निर्माणमा ठोस सुधार गर्न संघर्ष गरिरहेका छन्। तथापि, विकासका नाममा भइरहेको भौतिक संरचना निर्माणले दीर्घकालीन समाधान दिन सक्ने अवस्था छैन भन्ने धारणा तीव्र हुँदै गएको छ।

वैकल्पिक विकास अवधारणाको आवश्यकता

शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्गको धारणा अनुसार, माथिल्लो डोल्पाको विकास मोडालिटीमा आमूल परिवर्तन आवश्यक छ। उनी भन्छन्, “अबको प्राथमिकता कृषि, पशुपालन र स्थानीय उद्यमशीलता हो।” उनका अनुसार सडक तथा ठूला भौतिक संरचनाभन्दा स्थानीय स्रोत र दक्षतामा आधारित साना लगानीमैत्री परियोजनाहरू दीर्घकालीन रूपमा प्रभावकारी हुनसक्छन्।

स्थानीय स्रोतमा आधारित संरचना निर्माण

उपाध्यक्ष गुरुङ्गको सुझाव छ—यदि भौतिक संरचना निर्माण गर्नुपर्ने नै हो भने, ७० प्रतिशत स्थानीय स्रोत र ३० प्रतिशत बाह्य स्रोत प्रयोग गरी त्यसलाई सुलभ, वातावरणमैत्री र भौगोलिक दृष्टिले उपयुक्त बनाउनुपर्छ। फलाम र स्टीलका खम्बा प्रयोग गरी गरिएको घेराबार जस्ता संरचना न त मर्मत सम्भव हुन्छ, न त लागतमैत्री। बरु स्थानीय ढुंगा र माटो प्रयोग गरेर निर्मित संरचना जनउत्तरदायी, पुनः प्रयोग गर्न मिल्ने र टिकाउ हुन्छन्।

खानेपानी योजनाको पुनरावलोकन

डोल्पाका अधिकांश खानेपानी योजना छ्यापछ्याप्ती र अल्पकालीन प्रकृतिका छन्। आर्थिक वर्षको अन्त्यमा देखाउने प्रकृतिका योजनाबाट एक–दुई महिना मात्र पानी झर्छ र त्यसपछि त्यहाँका धाराहरू सूख्खा बन्छन्। उपाध्यक्ष गुरुङ्गको जिज्ञासा छ—”यस्तो अपूर्ण र अल्पकालीन संरचनामा बारम्बार लगानी किन? यसको दीर्घकालीन समाधान र प्रविधिमा सोच्न सकिन्न र?”

दीर्घकालीन दृष्टिकोण र जनमुखी विकास

गुरुङ्गको दृष्टिमा अबको बाटो भनेको स्थानीय रोजगार, उद्यमशीलता, जलवायु अनुकूलता, व्यावसायिक कृषि र दिगो विकास हो। शिक्षा र स्वास्थ्यलाई पूर्वाधार विकासको सूचीमा मात्र राख्ने होइन, कार्यान्वयनमै केन्द्रीत लगानी आवश्यक छ। काठमाडौं वा अन्य शहरहरूतर्फ बिरामी पठाउने अवस्थालाई निरुत्साहित गर्दै स्थानीय स्वास्थ्य सेवा मजबुत बनाउनु आजको आवश्यकता हो।

माथिल्लो डोल्पाको सन्दर्भमा विकासको परिभाषा पुनर्लेखन गरिनु आवश्यक छ। भौतिक संरचनामा मात्रै होइन, मानव क्षमतामा लगानी, स्थानीय स्रोतको उपयोग र जनताको संलग्नता समेटिएको विकास मोडेलले मात्र यस क्षेत्रको दिगो र समावेशी उत्थान सम्भव बनाउँछ।

गुरुङ शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया