सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन् ।
गए राति करिब ११ बजेको समयमा वीरेन्द्रनगर–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट सडकमा हाम फाल्दा उनी घाइते भएका थिए । घाइते उपाध्यायलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए ।
उनको शव हाल प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । गाडी चालक वीरेन्द्रनगर–१२ बस्ने २४ वर्षीय कुशल राना प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपाध्याय वीरेन्द्रनगरमा लामो समयदेखि डेरी सञ्चालन गर्दै आएका थिए ।

डोल्पा न्यूज । १ चैत्र २०८१, शुक्रबार ११:००