विष्णुप्रसाद देवकोटा,
डोल्पा।“विकास भन्नु केवल बजेट खर्च होइन, त्यो जनउत्तरदायिता र दीर्घकालीन लाभसँग गाँसिएको मूल्य हो,” ।यो भनाइलाई सार्थकता दिने प्रयासस्वरूप डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा सामाजिक विकास कार्यालयमार्फत सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको नेतृत्वमा सम्पन्न अनुगमनले योजनाको कार्यान्वयन पद्धति, प्राविधिक सल्लाहको पालना, र भुक्तानी प्रक्रियामाथि कडा निगरानी प्रारम्भ भएको संकेत दिएको छ। विशेष गरी निर्माण गुणस्तर र पारदर्शितामाथि उठेका प्रश्नहरूलाई ध्यानमा राख्दै यसपटकको अनुगमन ‘कागजमा मात्र योजना सम्पन्न’ हुने प्रवृत्तिप्रति प्रत्यक्ष हस्तक्षेप बनेको देखिएको छ।
मद्दुमा भलिबल मैदान: अपूरो संरचना, अस्पष्ट जवाफदेही
त्रिपुरासुन्दरी–२ मद्दुमा सूर्यदय नव युवा क्लबमार्फत निर्माण भइरहेको भलिबल मैदानमा ३६ लाख रुपैयाँको लगानी छ। श्रमदान सहितको यस योजनामा दक्षिण पट्टि मेसिनरी पर्खाल अधूरो, पूर्व–पश्चिम मोहडा फिनिसिङ विहीन र समग्र मैदानको स्वरूप अझै अस्पष्ट देखिएको अनुगमन टाेलिले आैलाएकाे छ।
स्थलमै निरीक्षण गरेपछि समन्वय प्रमुख रोकायाले मापदण्ड विपरीत, तथा प्राविधिक परामर्श विना निर्माण भएकाले भुक्तानी नदिन कडाइका साथ निर्देशन दिनुभयो। क्लब अध्यक्ष देवप्रसाद बुढाले निर्माण सामग्री टाढाबाट ढुवानी गर्नुपर्ने बाध्यता र घाटा लागेको गुनासो गर्दा पनि टोलीले कामको गुणस्तर सन्तोषजनक नभएको निश्कर्ष निकालेको छ।केही समय कामकाे बारेमा अनुगमन टाेलिले सम्बन्धित निर्माण कर्ता र स्थानीयसंग बसेर निर्माणस्थलमै छलफल विचारविमर्श समेत गरेकाे थियाे ।
जिउँ गाउँको विद्यालय योजना: पारदर्शिताको उदाहरण
अनुगमनकै क्रममा त्रिपुरासुन्दरी–३ स्थित महादेव आधारभूत विद्यालयमा निर्माण भइरहेको घेराबार र खानेपानी योजना भने उदाहरणीय देखिएको छ। २५ लाख रुपैयाँको लागतमा ४ किलोमिटर टाढाको मुहानबाट पानी ल्याइने, १६५ मिटर लामो मेसिनरी पर्खालमाथि फलामकाे एंगलसहितकाे ग्याविन जाली र फलामको ढोका राखिने कार्य सन्तोषजनक रहेको अनुगमन टोलीको मूल्याङ्कन थियो।
प्राविधिक सल्लाह, पारदर्शिता र स्थानिय प्रतिबद्धता समायोजनमा जब रहन्छ, तब मात्र सानो बजेटमा पनि उल्लेखनीय परिणाम सम्भव हुन्छ भन्ने कामकाे ज्वलन्त उदाहरण जिउँस्थित महादेव आधारभूत विद्यालयमा गरिएकाे विकास हाे।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिलन केसी र प्रधानाध्यापक रामबहादुर गुरुङले खानेपानी र घेराबार याेजनाले विद्यालयलाई ठूलाे राहत पुग्ने बताउनु भयाे ।उहाँहरुले विव्यस विद्यालय परिवार र गाउँलेहरुकाे सकारात्मक साेच र विद्लयप्रतिकाे झुकावले विकास निर्माण सहजता ल्याउने बताउनु भयाे ।
‘कागजमै योजना सम्पन्न’ प्रवृत्तिलाई चुनौती
जिल्ला समन्वय प्रमुख रोकायाले पछिल्ला वर्षहरूमा राजनीतिक पहुँच, पारिवारिक लाभ र योजनाको दोहोरो कार्यान्वयन (डुब्लिकेसन) का कारण डोल्पामा विकृति मौलाउँदै गएको टिप्पणी गर्नुभयो। उहाँको भनाइमा, “अबको विकास नागरिकको अपनत्वसँग गाँसिनुपर्छ — अर्काको औंला ताक्ने होइन, आफ्नै जिम्मेवारीमा काम गर्ने समय हो।”
अख्तियारमा डोल्पाबाट बढ्दो उजुरी र मुद्दाका कारण, योजनामा पारदर्शिता, जिम्मेवारी र जन निगरानीलाई अनिवार्य शर्त बनाइनुपर्ने सन्देश समेत उहाँले दिनुभयो।
अनुगमन टोलीमा त्रिपुरासुन्दरी नगर प्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, सामाजिक विकास कार्यालयका प्रमुख दुर्गा विष्ट, लेखा अधिकृत राजकुमार केसी, रामबहादुर बुढा, र सामाजिक कार्यालयका प्राविधिक सहित संचारकर्मीको सहभागिता थियो। यसले अनुगमन कार्य केवल ‘अनुगमनको लागि अनुगमन’ नभई नीति निर्माण, सार्वजनिक जवाफदेहिता र समन्वयात्मक शासन अभ्यासको अभ्यास भएको संकेत गरेको छ।
डोल्पा जस्तो भौगोलिक दृष्टिले विकट तर सम्भावनायुक्त जिल्लामा अबको विकासले केवल भौतिक संरचना निर्माण होइन, सार्वजनिक विश्वास निर्माण गर्नुपर्ने आवश्यकता झन् तीव्र बन्दै गएको छ। त्रिपुरासुन्दरीको यो अनुगमन त्यसै दिशातर्फको सशक्त कदमकाे रुपमा लिइएकाे छ।