राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई नेताबीच कुटाकुट भएको छ।
आइतबार पार्टी कार्यालय धुम्बाराहीमा चलिरहेको राप्रपाको कार्य सम्पादन समितिको बैठकमा पार्टीका महामन्त्री विक्रम पाण्डे र ठाकुरमोहन श्रेष्ठको समूहबीच कुटाकुट भएको हो।
बैठकमा बोल्ने क्रममा श्रेष्ठले नामै तोकेर नेता पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेका थिए। त्यसपछि माहोल उत्तेजित भएपछि केहीबेर बैठक रोकिएको थियो। बैठक रोकेर बाहिर निस्किने बेलामा कार्य सम्पादन समितिका सदस्य श्रेष्ठमाथि पाण्डे समूहका नेता कार्यकर्ताले हातपात गरेका थिए।
हात हालाहाल हुन थालेपछि अरू नेताहरूले दुई समूहलाई छुट्याएका थिए। अध्यक्ष राजेन्द्र लिङ्देनकै कार्यकक्षमा नेता श्रेष्ठमाथि हातपात भएको हो। त्योबेला खाना खान भनेर अध्यक्ष लिङ्देन कार्यालय बाहिर निस्किसकेका थिए।
अहिले दुई पक्षका नेताहरूलाई राखेर ‘समझदारी’ कायम गराउने प्रयास भइरहेको बैठकमा सहभागी नेताहरूले जनाएका छन्। कार्यसम्पादन समितिका सदस्य रहेका श्रेष्ठ पूर्व एआइजी पनि हुन्।