जाजरकोट, चैत २५ – जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ की ३० वर्षीया राजु कुमारी शाहीलाई नेपाल प्रहरीको समन्वयमा उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।
२०७८ चैत २३ गते साँझ ५ बजे डेलिभरीका लागि परिवारले उनलाई प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पुर्याएका थिए। सोही राति ११ बजे शाहीले सामान्य रुपमा बच्चा जन्माए पनि डेलिभरी पश्चात अत्याधिक रक्तस्राव हुन थालेपछि अवस्था जटिल बन्दै गएको थियो।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गर्खाकोटका प्रमुख प्रहरी निरीक्षक नवराज बुढा क्षेत्रीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत २५ गते दिउँसो ३:१८ बजे उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेत पठाइएको हो।