ताजा समाचार

त्रिपुरासुन्दरी–२ मा त्रिपुरा मावि मद्दुको स्वर्ण जयन्ती भव्यताका साथ सम्पन्न

विष्णुप्रसाद देवकोटा

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–२ मा अवस्थित त्रिपुरा माध्यमिक विद्यालय, मद्दु स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती समारोह भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख जनचन्द्र रोकायाले विद्यालयले आधा शताब्दीको यात्रा पार गर्दै शिक्षाको उज्यालो फैलाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरे।

विशेष समारोहमा अतिथि वडाअध्यक्ष रामचन्द्र कुलाल, कार्यक्रम अध्यक्ष महिला सदस्य कमला थापा तथा विद्यालय समुदायको सक्रिय सहभागिता रहेको थियो।

सो अवसरमा विद्यालयको उन्नति र प्रगतिमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। भूतपूर्व विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष रणबहादुर बुढा, जङ्गविर रोकाया, बलबहादुर बुढा, नन्दवीर रोकाया, पुर्निप्रसाद थापा लगायतलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो। त्यस्तै, विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बोहोरा र पूर्व प्रअ हिराचन्द्र बुढालाई समेत शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो।

सम्मानपत्र र दोसल्ला प्रमुख अतिथि नगरप्रमुख रोकाया तथा वडाअध्यक्ष कुलालले संयुक्त रूपमा प्रदान गरेका थिए। विव्यस अध्यक्ष धनबहादुर काम विशेष जिल्ला बाहिर रहेकाले महिला सदस्य कमला थापाले कार्यक्रमको अध्यक्षता गर्ने अवसर पाएकी थिइन्।

कार्यक्रमलाई अझ रौनकपूर्ण बनाउन विद्यालयका बालबालिकाले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।

तपाईको प्रतिक्रिया