ताजा समाचार

पर्यटक आकर्षण गर्दै शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज

विष्णुप्रसाद देवकोटा

सुलीगढी (डोल्पा), असोज ३१ गते ।नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको  शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलीगढीका अनुसार पछिल्ला वर्षहरूमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।

निकुञ्ज कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ५२५ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये ५०४ जना नेपाली, ६ जना सार्क मुलुकका र १५ जना विदेशी नागरिक रहेका थिए।

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा कुल ३,०५६ जना पर्यटकले भ्रमण गरेका थिए। तीमध्ये ३,२३६ जना नेपाली, ७५ जना सार्क देशका र ७४५ जना विदेशी रहेका थिए।आर्थिक वर्ष २०८०/०८१ मा यो संख्या घटेर २,५४० पुगेको छ भने २०८१/०८२ मा कुल ५,३०७ जनाले निकुञ्ज भ्रमण गरेका छन्।

हालसालैको विवरणअनुसार २०८२/०८३ मा अहिलेसम्म १,४९४ जना पर्यटकले शे–फोक्सुण्डो भ्रमण गरिसकेका छन्।

निकुञ्ज कार्यालयले आन्तरिक र बाह्य पर्यटकका लागि प्रवेश शुल्क दर पनि निर्धारण गरेको छ। त्यस अनुसार,पाली नागरिकले रु १००,सार्क मुलुकका नागरिकले रु १,५००, र विदेशी नागरिकले रु ३,०००तिर्नुपर्ने व्यवस्था गरिएको छ।

निकुञ्जका निमित्त  प्रमुख किशोर कुमार महतका अनुसार, हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य,फोक्सुण्डो ताल, सांस्कृतिक विविधता र धार्मिक स्थलहरूले पछिल्लो समय आन्तरिक पर्यटनलाई आकर्षण गरेको छ। उनले थपे, “डोल्पाको कठिन भौगोलिक अवस्था र सीमित पूर्वाधारबीच पनि निकुञ्जले आन्तरिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय प्रगति गरेको छ।”

कोरोनाका कारण स्थगित पर्यटन गतिविधिले २०७६/०७७ र २०७७/०७८ मा पर्यटक आगमनमा गिरावट ल्याएको भए पनि हालको प्रवृत्तिले पुनः पर्यटन चहलपहल बढ्दै गएको देखाउँछ।

तपाईको प्रतिक्रिया