पुर्ण सार्की/सुर्खेत : कर्णाली प्रदेशका १० जिल्ला मध्ये सात जिल्लामा ९  विमानस्थल छन्। प्रदेश राजधानी सुर्खेत, कालिकोट, हुम्ला, जुम्ला र मुगुमा एक-एक तथा डोल्पा र रुकुम पश्चिममा दुई-दुई वटा विमानस्थल छन्।दैलेख, सल्यान र जाजरकोटमा भने विमानस्थल छैन । भएका विमानस्थलमध्ये सुर्खेत, जुम्ला,मुगु, हुम्ला, र डोल्पाको जुफाल विमानस्थल सञ्चालनमा छन्। सञ्चालनमा रहेका मध्य केही विमानस्थल पुनर्निर्माणको प्रतिक्षामा छन् त केही विमानस्थलको स्तरोन्नत्ति कहिले हुने हो टुंगो छैन।
प्रदेश राजधानी मै रहेको वीरेन्द्रनगर स्थित सुर्खेत विमानस्थल पनि लामो समय देखि स्तरोन्नति हुन सकेको छैन। लामो समयदेखि यो विमानस्थल विस्तारमा विवाद देखिएको छ।
कहिले राजनीतिक नेतृत्वहरूको आपसी लडाइँले त कहिल्यै स्थानीयको अवरोधका कारण यो विमानस्थलले मुहार फेर्न अझै सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन १५ मा गरेको मन्त्रीस्तरीय निर्णयले सुर्खेत विमानस्थलमा फेरि विवाद देखिएको छ।
चालु आर्थिक वर्षमा सुर्खेत विमानस्थल विस्तार योजना अन्तर्गत १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा जाने गरी विमानस्थलको उत्तरतर्फ रहेको जग्गा अधिकरण र अमरज्योति माविलाई स्थानान्तरण गर्न रकम माग गरिएको छ। यसका लागि झण्डै ५ अर्ब बजेट लाग्ने अनुमान छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिफारिस भएका तीनवटा विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिकरणमा थप बजेट व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पत्र लेखेको छ। तीन विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा काम अघि बढाउन ४ अर्ब ९० करोड रुपैयाँको स्रोत सुनिश्चितताका लागि माग गरिएको छ। तर, काम भने हुन सकेको छैन। अहिले सुर्खेत विमानस्थल देखि दैनिकी संघीय राजधानी काठमाडौं सम्म श्री एयरलाईन्स र बुद्ध एयरलाईन्सले उडा गरिरहेका छन् भने यति एयरलाइन्सले परीक्षण उडान मात्रै गरेको छ। विमानस्थल देखि कर्णालीका हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु उडान गरिरहेको तारा एयरले भने घाटा लागेको भन्दै उडान बन्द गरेको छ।

कर्णालीकै जुम्ला विमानस्थल पनि स्तरोन्नतिको पर्खाइमा छ। सञ्चालनमा रहेको विमानस्थलले धावनमार्ग विस्तार गर्न जग्गा अधिकरणमा आवश्यक पर्ने बजेटको अभाव झेलिरहेको छ। विमानस्थल विस्तारका लागि १८३.०५ रोपनी जग्गा अधिग्रहण गर्न ४४ करोड गरी कुल विमानस्थल विस्तारमा एक अर्ब लाग्ने अनुमान छ।
यात्रुको चाप हुने यो विमानस्थलको धावनमार्ग छोटो हुँदा १८ र १९ सिटे जहाजले मात्र उडान-अवतरण गर्छन्। संघीय सरकारले जग्गा अधिग्रहणका लागि चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरेको छ।
मुगुको ताल्चा विमानस्थल पनि संरचनाको अभाव झेल्दै आएको छ। रारा तालसँगै जोडिएको विमानस्थल भएका कारण यहाँ यात्रुको चाप बढ्दो छ। तर, भौतिक संरचनाकै कारण यो विमानस्थल जोखिममा छ। यता करोडौं रकम खर्चेर निर्माण गरिएका तीन विमानस्थल भने प्रयोगविहीन अवस्थामा छन्।
कालिकोटको नरहरिनाथ गाउँपालिका-१ स्थित कोटबाडामा निर्माण गरिएको सुनथराली विमानस्थलमा परीक्षण उडान बाहेक व्यावसायिक उडान हुन सकेको छैन। २०४२ सालबाट निर्माण सुरू गरेर ३९ वर्षमा निर्माण सम्पन्न गरिएको विमानस्थल अहिले स्थानीयका लागि खेल्ने पार्क बनेको छ।
जीवनबहादुर शाही नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा २९ माघ २०७३ मा पहिलो पटक यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। त्यसपछि १४ फागुन २०८० मा तत्कालीन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, कर्णालीका तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुई वटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए। तर त्यसयता यो विमानस्थलमा कुनै उडान भएका छैनन्।
उता रुकुम पश्चिमको चौरजहारी विमानस्थलको अवस्था पनि कालिकोटको भन्दा फरक छैन। छ वर्षदेखि त्यहाँको विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत नागरिकले हवाई सेवा पाउन सकेका छैनन्। २०७५ सालदेखि बन्द विमानस्थल सञ्चालनमा छैन।२०७२ सालमा ५ करोड ५९ लाख ४९ हजार रुपैयाँ खर्चेर बनाइएको यो विमानस्थलमा अहिले घाँस उम्रेको छ। त्यस्तै रुकुम पश्चिमकै अर्को सल्ले विमानस्थलको हविगत उस्तै छ। हप्ताको एउटा जहाज देख्ने यो विमानस्थल पनि जीर्ण हुँदै गइरहेको छ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०७ मा पर्ने मसिनेचौर विमानस्थल निर्माणको काम सम्पन्न भइसक्दा पनि परीक्षण उडानको काम समेत भएको छैन। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मंत्री सुदन किराँतीले बारम्बार परीक्षण उडानको मिति तय गरेका थिए। तर ती कुनै पनि मितिमा परीक्षण उडान नहुँदा यो विमानस्थल अहिले स्थानीयको लागि खेल्ने, घोडा कुदाउने, ड्राइभिङ सिक्ने थलो बनेको छ। विमानस्थलका लागि बनेका भौतिक संरचना समेत जीर्ण हुँदै गएका छन्। यो विमानस्थल सञ्चालनको लागि त्रिपुरासुन्दरी नगरपालिकाले समेत मन्त्रालयलाई बारम्बार पत्र लेख्दै आएको छ।
डोल्पाकै ठुली भेरी ०७ जुफाल स्थित जुफाल विमानस्थलको हालत पनि उस्तै छ। बेला बेला धावनमार्गको कमीकमजोरी देखाउँदै केही एयरलाइन्सले त उडान नै रोक्दै आइरहेका छन्।
( आजको बैजनाथ राष्ट्रिय दैनिकमा समाचार प्रकाशित छ)

डोल्पा न्यूज । ७ चैत्र २०८१, बिहीबार ०७:४६