काठमाडौ।राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले गठबन्धन भत्काउने र सरकार परिवर्तनलाई राजनीतिक जात्रा भइरहेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै अध्यक्ष केसीले राजनीतिक दलहरू सत्ता स्वार्थमा लागेका कारण मुलुक चुर्लुम्म डुबेको बताए ।
उनले भने– ‘यो राजनीतिक जात्राबाट हामी सच्चिऔँ, तपाईँहरू सच्चिनु जरुरी छ । देश विदेशीहरूको क्रिडास्थल भइरहेको छ भन्ने कुरा हामीलाई थाहा छ ।
तर हाम्रो स्वार्थका कारण मुलुक चुर्लुम्म डुबेको छ, देश अधोगतितिर लागिरहेको छ । यो लोकतन्त्र गणतन्त्र गयो भने तपाईँहरू कहाँ बसेर उफ्रिनुहुन्छ । लोकतन्त्र गणतन्त्रविरुद्ध जनमत बढिरहेको छ, वितृष्णा फैलिरहेको छ ।
अब हुने प्रतिगमन तेस्रो हुन्छ त्यसलाई सच्याउन हामीले लामो कसरत गर्नुपर्छ ।’
उनले बजारमा फेरि वामपन्थीहरुको एकता भन्ने नारा लागेको भन्दै आश्चर्य व्यक्त गरे । उनले वामपन्थी भनेपछि सिद्धान्त, कार्यक्रम, आचरण प्रवृत्ति हुनुपर्दैन भन्दै प्रश्न गरे ।
केसीले अहिले सहकारीमा ब्रह्मलुट मच्चाउने ब्यक्तिनै मन्त्री भएर आएको बताउँदै व्यक्तिको चरित्र कस्तो छ त्यसमा मतलब नगरी कसलाई मिसाउँदा सत्ता बलियो हुन्छ त्यसमा लागेको टिप्पणी गरे ।
उनले लोकतन्त्र ल्याएपछि कहाँ कहाँ कसले गल्ती गरेको छ सच्याउन आग्रह गर्दै सक्तामा जाने र भ्रष्टाचार गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे ।