ताजा समाचार

दौतारि फ्रेन्डस फर फ्युचर द्वारा हिमज्योति आविमा ९ लाख बराबरको शैक्षिक सामग्री सहयोग !

पुर्ण कुमार/ डोल्पा न्युज 

डोल्पा, असार १७

डोल्पा।  दौतारी फ्रेन्ड्स फर फ्युचर द्वारा डोल्पाको एक विद्यालयमा ९ लाख बराबरको शैक्षिक सामाग्री निःशुल्क सहयोग गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ०१ मा पर्ने हिमज्योती आधारभुत विद्यालयमा संस्थाले ९ लाख बराबरको झोला, पोशाक, जुत्ता,कापी, कलम र ज्यामित्रीको ६८ सेट शैक्षिक सामग्री निःशुल्क सहयोग गरेको हो। 

दौतारी संस्थाले सहयोग गरेको शैक्षीक सामग्री सोमबार त्रिपुरासुन्दरी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष रामचन्द्र कुलालको प्रमुख आतिथ्यमा विद्यार्थीलाई वितरण गरिएको छ।

दलित, गरीब र विपन्न समुदायका विद्यार्थीलाई पठनपाठनमा सहज होस् भनी युक्त संस्थाले विगत केही वर्ष देखि  विद्यालयलाई सहयोग गरिरहेको छ।

बालविकास शिक्षा देखि ५ कक्षा सम्म पढाइ हुने विद्यालयमा अहिले ६८ जनाले विद्यार्थीले पठन पाठन गर्दै आइरहेका छन्।  दलित समुदायका विद्यार्थीहरु मात्रै पठनपाठन गर्दै आइरहेको विद्यालयमा अहिले सबै समुदायका विद्यार्थीहरुको मुख्य रोजाइमा हिमज्योति आधारभुत विद्यालय पर्ने गर्दछ।  विद्यालय गुणस्तरीय शिक्षामा अब्बल बन्दै जानु यसको प्रमुख कारण हो । 

शैक्षिक सामग्री वितरण कार्यक्रममा दौतारी संस्थाका कोही पनि प्रतिनिधि नआएपनि विद्यालय परिवारले संस्था र संस्थाका सम्पुर्ण परिवारलाई हृदय देखि नै धन्यबाद व्यक्त गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर सार्कीले संस्थाले आफ्नो विद्यालय प्रति देखाएको माया, सदभाव र सहयोगलाई कहिल्यै न बिर्सिने र आगामी दिनमा समेत थप सहयोगको अपेक्षा गरेको बताए।

त्यस्तै विद्यालय प्रधानाध्यापक मन बहादुर सार्कीले दौतारी संस्थाले गरेको  सहयोग र यसका पहलकर्ता डोल्पा जिल्ला शे- फोक्सुण्डो गाउँपालिकाका समाजसेवी याङदेन गुरुङलाई धन्यबाद प्रकट गर्दै विद्यालय परिवारले यो सहयोग जिन्दगी भर नबिर्सिने बताए।

विद्यालयमा अहिले विद्यार्थीको चाप बढ्दै गइरहेको छ। शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष कुलाल, विव्यसका पधाधिकारीहरु, विद्यार्थीका अभिभावक, सहित स्थानीय सञ्चारकर्मीको उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया