विष्णुप्रसाद देवकोटा
डाेल्पा ।जनता माध्यमिक प्राविधिक विद्यालय जुम्लाका प्रधानाध्यापक हरिकृष्ण महतले आफ्नो ५०औँ जन्मदिन विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाएका छन्।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा आर्थिक रूपमा कमजोर, दलित, अनाथ तथा शारीरिक अशक्त ७० बालबालिकालाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरका कापी, कलम, झोला, जुत्ता, टाई, स्विटर र कपडासहितका सामग्री हस्तान्तरण गरेका हुन ।
महतले जन्मदिनका नाममा हुने फजुल खर्चलाई विपन्न बालबालिकाको राहतमा खर्च गर्दै समाजलाई अनुसरणयोग्य सन्देश दिएका छन्। उनले अभाव र संघर्षको अनुभव स्मरण गर्दै “कसैलाई शैक्षिक सामग्री र कपडाको अभावले शिक्षाबाट वञ्चित हुन नपरोस्” भन्ने सोचका साथ सहयोग अभियान सुरु गरेको बताए।
दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय महतले विद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक सुधारमा महत्वपूर्ण योगदान दिएका छन्। सामाजिक रुपान्तरणमा समेत लागिपरेका उनले आगामी वर्षदेखि हरेक जन्मदिनमा गरिब तथा जेहेन्दार बालबालिकालाई सहयोग गर्ने र चाँडै सञ्चालन गर्न लागिएको होटल व्यवसायको आम्दानीको केही हिस्सा पनि यस्तै कार्यमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर महत र नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईंले महतको सामाजिक उत्तरदायित्वपूर्ण पहलप्रति धन्यवाद व्यक्त गर्दै यसले बालबालिकालाई वास्तविक राहत पुग्ने विश्वास व्यक्त गरे।
डोल्पा न्यूज । ६ भाद्र २०८२, शुक्रबार १६:२५