ताजा समाचार

जगदुल्ला हाइड्रोपावर विवाद:एमाले डोल्पाको सार्वजनिक लेखा समितिलाई ध्यानाकर्षण

विष्णुप्रसाद देवकोटा 

डोल्पा, २०८२ साउन ४ । गते। कर्णाली प्रदेशको विकासको आशा बोकेको जगदुल्ला जलविद्युत् आयोजना निर्माणको प्रक्रिया पटकपटक रोकिएकोप्रति नेकपा (एमाले) डोल्पा जिल्ला कमिटीले गम्भीर ध्यानाकर्षण गराएको छ। जिल्ला भित्रको दीर्घकालीन समृद्धिको आधारशिला रहने जगदुल्ला हाइड्रोपावरको निर्माण कार्यमा विगतदेखि नै पार्टीले सक्रिय चासो राख्दै आएको र वर्तमान ठेक्का प्रक्रिया रोकिएपछि थप चिन्ता व्यक्त गरेको एमालेले सार्वजनिक लेखा समितिलाई लेखेको पत्रमा उल्लेख छ।

पत्रमा भनिएको छ, “ठेक्काको प्रक्रिया रोकिँदा काम रोकिएको छ, जसको असर डोल्पाका जनतामा परेको छ। डोल्पा जिल्लामा कार्यरत व्यवसायी तथा समूहहरूको उपेक्षा गर्दै बाहिरी व्यक्ति वा समूहलाई ठेक्कामा प्रोत्साहित गर्नु निन्दनीय मात्र नभई स्थानीयताको अपमान हो।”

नेकपा एमाले डोल्पाले सार्वजनिक लेखा समितिमा नाम चलाइएको भनिएको ‘रेट समिति’का सदस्य वा सम्बन्धित कुनै व्यक्तिको डोल्पामा उपस्थिति नै नभएको दाबी गर्दै समितिलाई आफ्नो नाममात्र प्रयोग गरिएको स्पष्ट पारेको छ। यसप्रकारको कार्यले समग्र प्रक्रिया विवादास्पद बनाएको भन्दै एमालेले स्वच्छ, पारदर्शी र प्रतिस्पर्धामूलक प्रक्रिया सुनिश्चित गर्न आग्रह गरेको छ।

पार्टी अध्यक्ष टंक रोकायाले हस्ताक्षर गरेको पत्रमा, सार्वजनिक लेखा समितिले यसबारे चाँडो छानबिन गरी आवश्यक निर्देशन जारी गर्नुपर्ने माग गरिएको छ। साथै, डोल्पाका जनताको आकांक्षा, ऊर्जा सम्भावना र समृद्धिको ढोका खोल्ने जलविद्युत् आयोजनामा कुनै प्रकारको अवरोध नगराउन पनि चेतावनी दिइएको छ।

पत्रको अन्त्यमा डोल्पाली जनताको सहभागिता र स्वामित्व सुनिश्चित गर्दै प्रक्रिया अघि बढाउन जोड दिँदै कानुनी उपचारको बाटो अपनाउने चेतावनीसमेत दिइएको छ। नेकपा एमाले केन्द्रीय सदस्य वदमी क्वारी बुढा,एमाले कार्यकर्ता धनचन्द्र बैजी लगायतकाे टाेलिले सार्वजानिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लिखित ध्यानाकर्षण गराएका हुन ।

तपाईको प्रतिक्रिया