ताजा समाचार

डाेल्पाका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती

पुर्ण कुमार ।डाेल्पा

डाेल्पाका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको छ । बैंंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणपछि ज्येष्ठ नागरिकलाई सास्ती भएको हो । बैंकहरु सदरमुकाम केन्द्रित हुने भएकाले रकम झिक्न एक देखि दुई दिनसम्म पैदल हिड्नु पर्ने समस्या छ।

ग्रामीण गाउँबस्तीमा गतिलो सडक छैन । सडक भएपनि यातायातको साधन नचल्दा घण्टौं पैदल हिडेर सामाजिक सुरक्षा भत्ता झिक्न बाध्य छन्। गाउँबस्तीमा र्बैंक पनि छैनन्। सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता दिन ज्येष्ठ नागरिकले घण्टौं सम्म पैदल हिड्नु पर्ने बाध्यताले समस्यामा भएको छ ।

जिल्लाका अधिकांश गाउँ बस्तीका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिनेहरुले दैनिक पैदल हिड्नु पर्ने बाध्यता छ। त्रिपुरासुन्दरी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी लिएको माछापुच्छ्रे बैंक लिमिटेड डोल्पा शाखा त्रिपुराकोट बगरले  वडा कार्यालयमा नगई नगरपालिकाको सदरमुकाममै वितरण गरिरहेकाले सामाजिक सुरक्षा भत्ता लिनेहरुले सास्ती भोग्नु परेको हो।

त्रिपुरासुन्दरी नगरपालीका–११ बन्तडीकी ६५ वर्षीय कली पुनलाई ज्येष्ठ नागरिक भत्ता लिनका लागि एक दिनदेखि दुई दिनको पैदल बाटो हिड्न उहाँले गुनासो गर्नुभयो । जेष्ठ नागरिक भत्ता लिनका लागि आउँदा घरबाट आएर एक दिन पालिकाको सदरमुकाममै बास बस्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नु भयो “बैंकमा पुगेपछि पनि लाईनमा बस्नु पर्छ। एक दिन जसो त बैंकमा नै लाग्ने भएकाले घर आउजाउ गर्न मै दुई दिन लाग्छ। सरकारले भत्ता त दियो तर लिन समस्या नै रहेकाले सहज गरिदिन आग्रह छ ”।

यसैगरी वडा नम्वर ११ का ७० वर्षीय जसपती बुढालाई ज्येष्ठ नागरिक भत्ता लिनका लागि नगरपालिका सदरमुकाम पुग्न चार देखि छ घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेको छ। उहाँहरु मात्रै नभई नगरपालिकाका अधिकांश वडाका सामाजिक सुरक्षा भत्ता लिनेहरुको समस्या यस्तै रहोको बताउनुभयो।

त्रिपुरासुन्दरी नगरपालिकाका अधिकांश वडाका गाउँमा सडक भएपनि यातायातको पहुँच नभएकाले सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिका सदरमुकामसम्म पुग्न पैदल हिड्नु पर्ने बाध्यता रहेको छ।

बैंकहरुले सामाजिक सुरक्षा भत्ता दिनका लागि सहज नगर्दा ज्येष्ठ नागरिकहरुले दिनभर जसो लाइनमै बस्नु पर्ने अर्काे समस्या छ। नगरपालिका सदरमुकामसम्म आउन समस्या भएकाले सामाजिक सुरक्षा भत्ताको रकम वडा कार्यालयबाटै वितरण गरिदिन उहाँहरुको आग्रह छ।

वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने हो। बैंक र स्थानीय सरकारले आवश्यक सम्झौता नगर्दा समस्या उत्पन्न भएको छ। माछापुच्छ्रे बैंक लिमिटेड डोल्पा शाखाले नगरपालिका सदरमुकाममै सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरिरहेको छ।

बैंकसँग आवश्यक सम्झौता गरेर  अबको चौमासिकमा वडा कार्यालयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी योजना बनाउने  त्रिपुरासुन्दरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत  हीराचन्द्र धरलाले बताउनु भयो।

सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेड शाखाका प्रमुख  कृष्ण चालिसेले सामाजिक सुरक्षा भत्ता लिन नसक्ने ज्येष्ठ नागरिकको हकमा चाहिँ सम्बन्धित पालिकाको सिफारिसमा संरक्षकलाई भत्ता वितरण गरिरहेको बताउनु भयो।

जिल्लाका सबै पालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता पालिकाकाको सदरमुकाम भएका बैंकहरु देखि लिन बाध्य छन्।

तपाइको प्रतिक्रिया

error: Content is protected !!