विष्णुप्रसाद देवकोटा
डोल्पा । हिमाली जिल्ला डोल्पाकाे ठूलोभेरी नगरपालिकाले ‘मेयर जनतासँग’ कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक लक्षित न्यानोपूर्ण सहयोग वितरण गरेको छ।
वडा नं. ७, ८ र ९ मा ६८ वर्ष माथिका जेष्ठ नागरिक र क वर्गका अशक्त समेत गरि एक सय ५ जनालाई फाइबर सिरक र च्यवनप्राश हस्तान्तरण गरिएको हो।
बांकी ८ वटा वडाहरुमा विस्तारै वितरण गरिने नगरले जनाएकाे छ ।नगर प्रमुख सुवर्ण कुमार बुढा तथा सम्बन्धित वडाध्यक्षहरूको उपस्थितिमा वस्तुहरू प्रत्यक्षरूपमा जेष्ठ नागरिकका घर–घरमै तथा स्थानीय भेला स्थलमा पुगेर वितरण गरिएको थियो।
यो अभियान हिउँद याममा जेष्ठ नागरिकले भोग्ने कठोर मौसम, स्वास्थ्य जोखिम र हेरचाहका आवश्यकतालाई ध्यानमा राखेर सञ्चालन गरिएको नगरपालिकाले जनाएकाे छ ।
न्यानो कपडाले चिसोबाट सुरक्षा प्रदान गर्ने र च्यवनप्राशले प्रतिरक्षा शक्ति बढाउने विश्वासका साथ यो कार्यक्रम अघि बढाइएकाे हो।
ज्येष्ठ नागरिक हाम्रो जीवन मार्गदर्शक पुस्ता हुन् उनीहरूको स्वास्थ्य, सम्मान र सुख–सुविधा सुनिश्चित गर्नु नगरपालिकाको पहिलो दायित्व भएकाे नगरप्रमुख बुढाले बताए ।यो केवल सामग्री वितरण मात्र होइन, जेष्ठ नागरिकप्रतिको कृतज्ञता र सहानुभूतिको अभिव्यक्ति पनि हो।”
जाडाेमा जिउ जोगाउने न्यानो सामग्री र स्वास्थ्य उपयोगी पौष्टिक उत्पादन समयमै पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमलाई प्रभावकारी र सराहनीय पहलका रूपमा लिएकाे स्थानीयले बताए ।

डोल्पा न्यूज । ३० कार्तिक २०८२, आईतवार १६:०४