ताजा समाचार

त्रिपुरासुन्दरीका विद्यालयमा उपमेयर कार्यक्रम: कक्षा १–३ का १,०१३ विद्यार्थीलाई झोला वितरण

विष्णुप्रसाद देवकोटा

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाले उपमेयर कार्यक्रममार्फत नगरका ११ वडामा रहेका २९ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ मा अध्ययनरत १,०१३ बालबालिकालाई विद्यालय झोला वितरण गरेको छ। आधारभूत तहमा विद्यार्थीको उपस्थिति बढाउने र भर्ना अभियानलाई सहयोग पुर्‍याउने लक्ष्यसहित झोला हस्तान्तरण गरिएको नगरपालिका जनाएको छ।

उपप्रमुख देवी घर्तीमगरका अनुसार शिक्षालाई नगरपालिकाले प्राथमिकतामा राख्दै बालमैत्री वातावरण बनाउने कामलाई तिव्रता दिएको छ। “शिक्षा नै चेतना र परिवर्तनको आधार हो,” उनले भनिन्। उनका अनुसार अभिभावकको चासो बढाउन, विद्यार्थीलाई नियमित विद्यालयमै जोड्न र सिकाइ स्तर सुधार गर्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

शुक्रबार घर्तीमगरले वडा नं. १० स्थित जनप्रभा साधारण तथा प्राविधिक माध्यमिक विद्यालय, लिकु मा अध्ययनरत बालबालिकालाई झोला वितरण गर्दै विद्यालयको भौतिक संरचना अवलोकन गरेकी थिइन्। कक्षा १ देखि १२ सम्म ५७२ विद्यार्थी रहेको उक्त विद्यालयका प्रधानाध्यापक तेजबहादुर गिरीले कार्यक्रमले विद्यार्थीको हौसला बढाएको बताएका छन्।

उनले विद्यालय पुराना र जीर्ण संरचनामा सञ्चालन हुँदै आएको उल्लेख गर्दै नयाँ भौतिक संरचना निर्माणका लागि नगरपालिकाले तत्काल पहल गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया