ताजा समाचार

मुख्यमन्त्री कँडेल : “दल र कर्मचारी एक सिक्काका दुई पाटा, 

विष्णुप्रसाद देवकोटा

डोल्पा । कर्णाली प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाह सुधार तथा सुशासन प्रवर्द्धनका उद्देश्यसहित आयोजना गरेको “सार्वजनिक सेवा प्रवाह सम्बन्धमा अन्तरक्रिया कार्यक्रम” डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको आयोजना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बीरेन्द्रनगर सुर्खेतले गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कँडेलले आफ्नो मन्तव्यमा भने — “जेनजि आन्दोलनबाट आदेशमा बनेको सरकारले सुरुवातमा प्रभाव पार्ला कि भन्ने लागेको थियो, तर विस्तारै जाँदा फेरि त्यही कानुन, त्यही व्यवस्था, त्यही राजनीतिक दलहरू देखा परे। ” उनले थप्दै भने, “दलगत प्रणालीमा जनप्रतिनिधि र दलका नेताहरूको भूमिका महत्वपूर्ण हुन्छ, तर योजनाको कार्यान्वयन पक्षमा कर्मचारीको जिम्मेवारी उतिकै संवेदनशील छ। दुवै पक्ष राष्ट्रसेवक हुन् — एक सिक्काका दुई पाटा। विकासको यात्रामा हातेमालो अनिवार्य छ।”

मुख्यमन्त्रीले जिल्लामा भित्रिने योजना र बजेट समयमै र सही ढङ्गले कार्यान्वयन गर्न सके जनताले प्रत्यक्ष लाभ पाउने उल्लेख गर्दै, सुशासन र पारदर्शिता कायम राख्दै काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

विशेष अतिथि  तथा भाैतिक पुर्वाधार विकास मन्त्री शेरबहादुर  बुढाले भने, “डोल्पाको विकासका लागि सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकाय एक स्वरमा आउनु जरुरी छ। दुनै–तिप्ला सडक निर्माणमा देखिएको गतिरोध अन्त्यका लागि सहकार्य र समन्वय अपरिहार्य छ,” भन्दै, प्रदेश सरकार यस विषयमा सक्रिय रहेको बताए।कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले गरेका थिए।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सामाजिक अभियन्ता र कर्मचारीहरू सहभागी थिए। सहभागीहरूले भेरी करिडोर सडक स्तरोन्नति, बेलिब्रिज निर्माण, तथा अन्य पूर्वाधार विकासका मागहरू मुख्यमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस पाटी सचिव हिक्मत शाही,नेकपा एमाले अध्यक्ष लंकबहादुर राेकाया त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकाया नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा सामाजिक अभियान्ता रणबहादुर कार्की र चिकित्सक अखण्ड उपाध्यायले जिल्लाका आधारभूत विषयमा आफ्नाे धारणा राखेका थिए ।

कार्यक्रमले जिल्लाको समग्र विकास, प्रभावकारी सेवा प्रवाह र प्रदेश–स्थानीय तहबीचको सहकार्यमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया