विष्णुप्रसाद देवकोटा
डोल्पाकाे ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका दुर्गम बस्तीहरू वर्षौँपछि आधुनिक सञ्चार सुविधासँग प्रत्यक्ष जोडिन पुगेका छन्।वडा नं. १० मिदग्ती लेकस्थित नेपाल टेलिकमको फोरजी टावर बिहीबार औपचारिक रूपमा सञ्चालनमा आएपछि फोक्सुन्डो ट्रेलका बस्तीदेखि यार्सा पाटनसम्म ‘डिजिटल कनेक्टिभिटी’ को नयाँ युग सुरु भएको स्थानीयले बताएका छन्।
दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसिका अनुसार फोरजीसहितको टावर सञ्चालनमा आएसँगै रह, परिला, काग्नी, साँङ्टा र छेप्का लगायतका बस्तीहरूमा पहिलोपटक स्थिर मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएकाे छ।केसिका अनुसार ठुलिभेरिकाे रह र परिला गाउँमा मात्रै करिब ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। “रहमा फोन र इन्टरनेट दुवै राम्रो चलेको छ।
नयाँ फोरजी टावरले सुलिगाडस्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय र सैनिक ब्यारेक क्षेत्रमा पनि उच्च–गुणस्तरको सेवा उपलब्ध गराएको छ।फोक्सुन्डो ट्रेलका पर्यटन व्यवसायी नोर्बु लामाका अनुसार छेप्कामा बाहिर राम्रो सेवा आए पनि घरभित्र सिग्नल कमजोर हुने समस्या छ।“तर, कुल मिलाएर हेर्दा यो ठूलो प्रगति हो,” लामा भन्छन्। “छेप्का–रेँची बीचमा अर्को टावर राख्ने पहल भइरहेको छ, त्यसपछि ट्रेल पूर्ण रूपमा जोडिन्छ।”
फोरजी सेवा सुरु भएपछि रह लेकदेखि भोक्पा, सागबारी तथा विभिन्न यार्सागुम्बा पाटनमा समेत सञ्चारको सहजता पुगेको छ। डोल्पाका दुर्गम भू–भागमा डिजिटल पहुँच विस्तारसँगै पर्यटन, सुरक्षा, आपतकालीन समन्वय र स्थानीय जीवनस्तरमा प्रत्यक्ष सुधार हुने अपेक्षा गरिएको छ।
फाेक्सुण्डाे लगायतका यार्सापाटन र पर्यटकीय पदमार्गमा फाेजि सहितकाे संचार पहुँच पुगेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले सामाजिक सञ्जालमा लेख्छन् हालै दुनै–फोक्सुण्डो यात्राका क्रममा स्थानीय, होटल व्यवसायी तथा पर्यटकहरूले सम्पर्क तथा इन्टरनेट समस्याबारे बारम्बार ध्यानाकर्षण गराएका थिए। रह क्षेत्रमा प्राविधिक कारणले BTS सञ्चालनमा नआएको उनले स्वयम् अनुभव गरेको उल्लेख गरेका छन्।
उनका अनुसार, यात्राकै क्रममा नेपाल टेलिकमका प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर डा. कमल लामिछानेसँग भएको समन्वयपछि टेलिकमका प्राविधिक टोली सक्रिय बनेका थिए। “उहाँहरूको निरन्तर प्रयासमा हिजो साँझदेखि दुनै–छेप्का आसपास तथा यार्सा पाटनका केही क्षेत्रमा मोबाइल तथा 4G सेवा सुचारु भएको छ,” मुख्यमन्त्री कडेलले उल्लेख गरेका छन्।
फोक्सुण्डो ताल वरिपरि 4G सेवा विस्तारका लागि रैँचीमा अर्को BTS जडानको प्रक्रिया सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा अघि बढाइएको उनले बताए। “चालु आर्थिक वर्षको चैत्र–बैशाखसम्म रैँचीमा BTS जडान गर्ने प्रतिवद्धता सम्बन्धित निकायले जनाएको छ,” कडेलको भनाइमा उल्लेख छ।मुख्यमन्त्री कडेल र भाैतिकपुर्वाधार मन्त्री शेरबहादुर बुढा फाेक्सुण्डाे तालमा पुग्दा शे फाेक्सुण्डाे गाउँपालिका अध्यक्ष धावासम्दुक गुरुङ र वडाअध्यक्ष निमा लामाले संचार असुविधाका बारेमा ध्यानाकर्षण गराएका थिए ।
“वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित क्षेत्रमा सेवा पुर्याउन सक्रिय भूमिका खेल्ने मन्त्रालय, नेपाल टेलिकमका प्रदेश कार्यालय तथा डोल्पा टेलिकमका सम्पूर्ण टोलीलाई धन्यवाद,” मुख्यमन्त्री कडेलले लेखेका छन्।

डोल्पा न्यूज । २८ कार्तिक २०८२, शुक्रबार १५:४१