विष्णुप्रसाद देवकोटा
डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित महिला सामुदायिक सेवा समाजलाई टेवा नेपालले ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
‘सेवा नै धर्म हो’ भन्ने मूल मर्मसहित स्थापित यस समाजलाई टेवा नेपालले विगत केही वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ। हालको सहयोगबाट समाजले महिलाको आर्थिक जीविकोपार्जन र आयआर्जन सुधारका लागि तेल पेल्ने मेसिन खरिद गरेको हो।
दुर्गम डोल्पाका महिलाको आर्थिक सबलीकरण र अनाथ बालबालिकाको संरक्षणमा सक्रिय समाजले अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा महिलाको आयआर्जन, जनचेतना र सशक्तिकरणका विषयमा विस्तृत छलफल गरिएको समाजले जानकारी दिएको छ।
कार्यक्रममा समाजकी अध्यक्ष दिलमाया विष्टले दुर्गम क्षेत्रका महिलाको आत्मनिर्भरता र आर्थिक सबलीकरणका लागि टेवा नेपालले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै भनिन्, “टेवा नेपालले निरन्तर साथ दिइरहेको छ, यसका लागि संस्था र व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद छ।”
कार्यक्रमका प्रमुख अतिथि तथा त्रिपुराकोटका ज्येष्ठ नागरिक रवि प्रसाद न्यौपानेले महिलाले सीप र आत्मविश्वाससहित अघि बढे मात्र समाज समृद्ध बन्ने बताउँदै तेल पेल्ने मेसिनको पूजापाठसहित उद्घाटन गरेका थिए।
महिला सामुदायिक सेवा समाजमा हाल १३ जना सदस्य सक्रिय रूपमा आवद्ध छन्। कार्यक्रममा समाजका संरक्षक दिलबहादुर विष्ट, त्रिपुरासुन्दरी मन्दिरका पुजारी गौरीशंकर उपाध्याय, समाजसेवी तथा सहयोग पहलकर्ता टिकादत्त न्यौपाने, स्थानीय महिला र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समाजले आगामी दिनमा पनि महिलाको आर्थिक सशक्तिकरणका लागि सीप विकास, आयआर्जनमुखी कार्यक्रम र सामाजिक चेतनाका अभियान निरन्तर सञ्चालन गर्ने जनाएको छ।

डोल्पा न्यूज । २२ कार्तिक २०८२, शनिबार २०:००