ताजा समाचार

प्रतिगामी षड्यन्त्र मुर्दावाद, प्रतिनिधि सभा पुनःस्थापना गर भन्दै डाेल्पामा एमालेकाे जनप्रदर्शन

विष्णुप्रसाद देवकोटा

डोल्पा ।‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित नेकपा (एमाले) ले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोट बजारमा पालिकास्तरीय जनप्रदर्शन गरेको छ।

‘प्रतिगामी षड्यन्त्र मुर्दावाद’, ‘विघटित प्रतिनिधि सभा पुनःस्थापना गर’, ‘२३ र २४ काे आपराधिक घटनाको निष्पक्ष छानबिन गर’, ‘ताेडफाेड, लुटपाट र आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’, ‘हत्या, हिंसा र आतंक बन्द गर’, ‘जनताको बहुदलीय जनवाद जिन्दाबाद’जस्ता नारासहित एमालेका नेता–कार्यकर्ताहरूले बजार परिक्रमा गरेका थिए।

नगर कमिटी अध्यक्ष चन्द्रखर बुढाको अध्यक्षतामा सम्पन्न प्रदर्शनपश्चात् आयोजित विरोधसभाको प्रमुख अतिथि, नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य चन्द्रकुमारी बुढाले विदेशी दलाल र प्रतिगामी शक्तिहरूको मिलेमतोमा देशमा उत्पन्न आतंककारी गतिविधि तथा घटनाविरुद्ध पार्टीले देशव्यापी जनआन्दोलन सुरु गरेको बताइन्।उनले भनिन्, “निर्दोष सुरक्षाकर्मीमाथि अमानवीय व्यवहार र जेनजि आन्दोलनको नाममा विध्वंसकारी कार्य देशविरोधी गतिविधि हुन्।”

चन्द्रकुमारी बुढाका अनुसार, जेनजि आन्दोलनका नाममा केपी ओलीको घरमा आगजनी गर्दा ‘किताब बाहेक केही नदेखिएको’ भए पनि अन्य दलका नेताहरूका घरमा पैसा र सामग्री लुटिएको तथ्य प्रमाणित भइसकेको बताइन्। उनले थपिन्, “देशको सुरक्षा, राष्ट्रिय अखण्डता र विकासका लागि एमाले नै एक मात्र राष्ट्रप्रेमी पार्टी हो।”

कार्यक्रमका विशेष अतिथि तथा एमाले जिल्ला अध्यक्ष लंकबहादुर रोकायाले ‘जेनजि आन्दोलन’को नाममा देशभर सिर्जना गरिएको अराजकता र हिंसात्मक गतिविधि कानूनी दृष्टिले दण्डनीय भएको बताए। उनले भने, “जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्य जोगाउन प्रतिनिधि सभा पुनःस्थापना हुनु आवश्यक छ। सुशिला कार्की नेतृत्वको सरकार विदेशी दलालहरूको कुत्सित योजना अन्तर्गत असंवैधानिक ढंगले बनेको हो।”

रोकायाका अनुसार, एमालेले देशभरका ७५३ वटै स्थानीय तहमा वर्तमान सरकार र जेनजि आन्दोलनबाट उत्पन्न परिस्थितिको विरोधमा जनप्रदर्शन गरिरहेको छ। उनले आउँदो कात्तिक २९ गते सदरमुकाम दुनैमा जिल्लास्तरीय विरोध प्रदर्शन हुने जानकारी पनि दिए।

सचिवालय सदस्य खिम बुढाले जेनजि आन्दोलनको मुख्य उद्देश्य ओली नेतृत्वको स्थिर सरकार ढाल्नु र देशको अस्तित्वमा खेलवाड गर्नु रहेको आरोप लगाए। उनका अनुसार, “यो आन्दोलन विदेशी शक्तिको संरक्षणमा सञ्चालन भएको राष्ट्रिय स्वाधीनतामाथिको प्रत्यक्ष आक्रमण हो।”

कार्यक्रममा त्रिपुरासुन्दरी नगरप्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, लगायत नगरका पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।यसैगरी विराेध जनप्रदर्शन अन्तर्गत जगदुल्ला गाउपालिकामा समेत भएकाे छ ।

एमालेले हाल देशभर ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ अभियान अन्तर्गत पालिका–जिल्ला हुँदै केन्द्रसम्म विरोध प्रदर्शन तथा जनसभाहरू सञ्चालन गरिरहेको छ। डोल्पामा पनि यस अभियानको पहिलो चरण अन्तर्गत विभिन्न स्थानीय तहमा विराेध जनप्रदर्शन गरेकाे छ ।

तपाईको प्रतिक्रिया