ताजा समाचार
कृषिमा आत्मनिर्भरता तर्फ डोल्पाको सशक्त कदम

यार्सागुम्बा होइन,अब स्याउ र फलफूलको केन्द्र बन्दै हिमाली जिल्ला डाेल्पा

विष्णुप्रसाद देवकोटा

डोल्पा ।स्याउ उत्पादनको हबको रूपमा परिचित हिमाली जिल्ला डोल्पाले यस वर्ष कृषिमा नयाँ उपलब्धि हासिल गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत डोल्पाबाट मात्रै ४ सय मेट्रिक टन स्याउ विभिन्न सहरमा निर्यात भई करिब दुई करोड २० लाख रुपैयाँ आम्दानी भएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, डोल्पाले आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरेको हो।

बिहीबार जिल्ला समन्वय समिति डोल्पाको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यालयका निमित्त प्रमुख गोविन्द मल्लको सभाध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

निमित्त प्रमुख मल्लका अनुसार डोल्पाबाट निर्यात भएका स्याउ जाजरकोट, सल्यान, दाङ, पोखरा र काठमाण्डौंसम्म पुगेका छन्। ढुवानीका लागि कार्यालयले ५० प्रतिशत अनुदान सहयोग गरेको छ।

कार्यालयले चालू आर्थिक वर्षका लागि रु. ३ करोड ६० लाख ५७ हजार बराबरको बजेट सार्वजनिकीकरण गर्दै स्याउ, ओखर, दलहन/सिमी, भेडा–बाख्रा र आलुमा जोन बनाई काम गर्ने जनाएको छ।

स्याउ जोन: त्रिपुरासुन्दरीका ३ र ४ नं वडा, ठूलीभेरीका ११ वडा र जगदुल्लाका सबै वडामासिमी जोन: काइकेका ७ वडा र मुड्केचुलाका ६ वडामा  कार्यक्रम संचालनमा छन ।

मल्लका अनुसार डोल्पाको स्याउ उत्पादकत्व राष्ट्रिय औसतभन्दा माथि छ। यस वर्ष ५० हेक्टरमा स्याउ विस्तार, १ हेक्टरमा उच्च घनत्वको फुजी जात रोपाइँ, परम्परागत बगैँचाको प्रविधियुक्त सुधार, बर्मी कम्पोस्ट प्रवर्द्धन र डिजिटल माटो नक्सा अद्यावधिकजस्ता कामहरू अघि सारिएको छ।

ठूलीभेरी–१ का कृषक दसरथ रोकायले प्राङ्गारिक विषादीबारे चेतना अभाव र दक्ष प्राविधिकको अभावले किसानले समस्या व्यहोर्नुपरेको बताए।उनले भने, “वर्षेनी बिरुवा सुक्छन्, प्राविधिक सहयोग बिना किसानले प्रविधियुक्त खेती गर्न सक्दैनन्।”

स्याउ जोनका अध्यक्ष धनबहादुर डाँगीले डोल्पा कृषिमा सम्भावनाको खानी भएको बताए।उनले भने, “यहाँ केवल यार्सागुम्बा होइन, फलफूल र स्याउको हब बनाउन सक्ने अपार सम्भावना छ।”

डिभिजन बन कार्यालयका अधिकृत कमल अधिकारीले वन कार्यालयले पनि कृषिमा सहकार्य गर्दै आएको बताए।उनले भने, “प्रत्येक वर्ष हजारौँ बिरुवा उत्पादन गर्ने लक्ष्यसहित ओखर वितरणमा पनि वन कार्यालय सक्रिय छ।”

कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कृषि आधुनिकीकरण कार्यक्रमको प्रयासलाई सराहना गर्दै थप सुदृढ बनाउन सुझाव दिए।

नेकपा (एमाले) जिल्ला अध्यक्ष लंक रोकायले भने। “कृषि आधुनिकीकरण कार्यान्वयन एकाईको काम अन्य कार्यालयभन्दा सन्तोषजनक छ। तर नतिजा देखिने गरी काम गर्न सके मात्रै यसको प्रभाव टिकाउ हुन्छ।”

नेपाली कांग्रेस जिल्ला सचिव हिक्मतकुमार शाहीले भने,“डोल्पामा वास्तविक कृषक पहिचान गरेर लगानी गर्न आवश्यक छ। कृषि सम्बन्धित कार्यालयहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरे डोल्पा कृषिको हब बन्न सक्छ।”

नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले पनि कार्यक्रमलाई ठूलीभेरी मात्र नभई सबै पालिकामा समान रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै भने,“सबै क्षेत्रका किसानले समान अवसर पाउनुपर्छ, तभी कृषि आधुनिकीकरणको उद्देश्य पूरा हुन्छ।”

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले उत्पादनको ब्रान्डिङ र बजार व्यवस्थापनमा ध्यान दिन सुझाव दिए।उनले भने, “उत्पादनको ब्रान्डिङले आम्दानी दोब्बर हुन्छ। राम्रो गर्न सके राम्रो, नसके नराम्रो नगर्नुहोस्।”

कार्यक्रमका अन्त्यमा कार्यालयका निमित्त प्रमुख गोविन्द मल्लले सबै सुझावलाई प्राथमिकतामा राखी आगामी वर्षका कार्यक्रमहरूलाई अझ किसानमुखी बनाइने प्रतिबद्धता जनाए।उनले भने, “सर्वपक्षीय सुझावसहित डोल्पालाई आत्मनिर्भर कृषि जिल्लाको रूपमा विकास गर्न प्रयास जारी रहनेछ।”

डोल्पामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले कृषिमा उत्पादन अभिवृद्धि, बजार व्यवस्थापन र आत्मनिर्भरता तर्फ महत्वपूर्ण योगदान दिइरहेको छ। स्थानीय कृषकदेखि जनप्रतिनिधि र सरोकारवाला सबैको साझा आवाज एउटै छ ।“डोल्पा अब यार्सागुम्बा मात्र होइन, स्याउ र फलफूलको हब बन्न सक्छ।”

तपाईको प्रतिक्रिया