ताजा समाचार

डाेल्पा ठुलीभेरी–७ का उत्कृष्ट शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित

विष्णुप्रसाद देवकोटा

जुफाल, डोल्पा । ठुलीभेरी नगरपालिका–७ ले आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्ने शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीलाई नगदसहित सम्मान गरेको छ। बुधबार जुफालस्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा सेवा, समर्पण र इमानदारीका साथ काम गर्ने १२ जना व्यक्तिहरूलाई पुरस्कृत गर्दै सम्मान गरिएको हो।

सम्मानित हुनेमा सम्पत्ती बुढा (बागवानी केन्द्र जुफाल), मनिषा खत्री (वडा सचिव), राजन कुमार डाँगी (स्वास्थ्य चौकी प्रमुख, जुफाल), शान्ती बुढा (अनमी, जुफाल स्वास्थ्य चौकी), सरिता शाही, शोभा शाही र जयलक्ष्मी केसी (सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका), बालकृष्ण डाँगी (प्रधानाध्यापक, आदर्श मावि जुफाल), भरत बोहोरा, ओम सारुमगर, रेश्मा सेन (शिक्षक, आदर्श मावि जुफाल) र रेशम बहादुर मल्ल (शिक्षक, मान्मा आबि जुफाल) रहेका छन्।

प्रधानाध्यापक बालकृष्ण डाँगीले सम्मानप्रति आभार व्यक्त गर्दै यसले अझ उत्साहका साथ सेवा गर्न प्रेरणा दिएको बताए। “हामीलाई मिलेको सम्मान केवल पुरस्कार होइन, जिम्मेवारी थपिएको संकेत पनि हो,” उनले भने।

वडा अध्यक्ष धर्ब बिक्रम शाही का अनुसार, उत्कृष्ट शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले समुदायमा सकारात्मक उदाहरण पेश गरेका छन्। “उनीहरूले देखाएको लगन र सेवा भावको कदरस्वरूप नगद पुरस्कारसहित सम्मान गरिएको हो,” शाहीले बताए। उनले स्थानीय सरकारको सफलतामा शिक्षक र कर्मचारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि उत्कृष्ट कार्यकर्ताहरूलाई निरन्तर सम्मान गरिने जनाए।

यो सम्मान कार्यक्रमले स्थानीय सेवाप्रदायकहरूमा उत्साह थपेको र समुदायमा माया, सद्भाव र उत्तरदायित्वको भावना बढाएको वडाले विश्वास लिएको छ।

तपाईको प्रतिक्रिया