विष्णुप्रसाद देवकोटा
डोल्पा। डोल्पा जिल्लामा बुधबारकाे दिन केवल भौतिक संरचना उद्घाटनको मात्र होइन, दुई प्रतीकात्मक यात्राको प्रारम्भ बन्यो— एउटा विकासको पुल, अर्को वीरताको सालिक।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले ठुलीभेरी नदीमाथि निर्माण भएको बेलिब्रिज पुल र स्वर्गीय क्याप्टेन दिनेश न्यौपानेको सालिक दुबैको उद्घाटन गरेर डोल्पाको भौतिक र मानवीय पहिचानलाई नयाँ अर्थ दिएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा बनेको ४ करोड १७ लाख मूल्यको उक्त बेलिब्रिज पुलले जिल्ला अस्पताल र हेलिप्याडलाई जोडेको छ।सबैभन्दा लामो बेलिब्रिज पुल मानिएको यो संरचना प्रदेश सरकारको तर्फबाट डोल्पालाई ‘दुर्गम’बाट ‘सुगम’तर्फ लैजाने अर्को पाइलो बनेको छ।पुल उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भने,सकारात्मक सोच, सामूहिक प्रयास र निरन्तरता भयो भने विकास दुर्गममा होइन, हाम्रै हातमा हुन्छ।”
उनले डोल्पाको विकासलाई प्रदेश सरकारको प्राथमिकतामा रहेको जनाउँदै स्थानीय स्तरमा सक्रियता र सहकार्यको महत्वमा जोड दिए।
भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढाका अनुसार पुल निर्माणपछि केवल स्वास्थ्य सेवा सहज भएको छैन, फोक्सुण्डो ताल पुग्ने पर्यटकहरूको यात्रामा पनि नयाँ सहजता आएको छ।
जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायाकाे अध्यक्षतामा सम्पन्न पुल उद्घाटन कार्यक्रममा जिल्लनस्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले पिछडिएको डाेल्पाकाे विकासकाे लागि प्रदेश सरकारले प्राथमिकतामा राख्नु पर्ने बताएका छन ।भौतिक पूर्वाधार कार्यालयका प्रमुख टेक हितानले
“कार्यालयको चासो, समन्वय र सक्रियता भयो भने छोटो समयमै ठूलो उपलब्धि हासिल गर्न सकिने बताए ।
उनका अनुसार पुलको निर्माण जिम्मा रिडार्क नेपालले साढे पाँच महिनामै सम्पन्न गरेको हो।
यसैगरी मुख्यमन्त्री कँडेलले सदरमुकाम दुनै प्रवेशद्वारमा निर्माण गरिएको क्याप्टेन दिनेश न्यौपानेको सालिक पनि अनावरण गरे। २०७२ फागुन १४ मा कालिकोटमा भएको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा न्यौपानेले आफ्नो ज्यानको जोखिममा यात्रुहरूलाई बचाएका थिए।उनी विमान दुर्घटनाअघि यात्रुहरूलाई भनेका थिए—
“हामी मरेर पनि तपाईंहरूलाई बचाउँछौं।”
त्यो साहसिक वाक्य अहिले पनि नेपाली आकाशमा नुनिलो सम्झनाजस्तै तैरिरहेको छ। दुर्घटनामा न्यौपाने र सह–पाइलट सन्तोष रानाको मृत्यु भए पनि नौजना यात्रुहरू जीवित रहे। त्यसै कारण उनी आज पनि ‘वीर पाइलट’का रूपमा सम्झिन्छन्।
दुई उद्घाटनको यो क्षण डोल्पाका लागि केवल औपचारिकता होइन विकास र मानवीय मूल्यको मिलनबिन्दु बनेको हो।न्याैपानेकाे शालिक अनावरण कार्यक्रमकाे अध्यक्षता स्वर्गीय क्याप्टेन न्याैपानेका पिता मानदत्त न्याैपानेले गरेका थिए ।
उद्घाटन समारोहमा प्रदेश प्रमुख सचिव बिरेन्द्रकुमार यादव, मन्त्रालयका सचिवहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो।
डोल्पाको दुनै अब केवल हिमाल र कठिनाइको नाम होइन, विकास र वीरताको प्रतीक पनि हो। एकातिर ठुलीभेरीमाथि तन्किएको पुलले जीवनलाई नजिक्याएको छ, अर्कातिर क्याप्टेन न्यौपानेको सालिकले आत्मबल र त्यागको सम्झना दिलाएको छ।

डोल्पा न्यूज । १९ कार्तिक २०८२, बुधबार १३:१०