काठमाडौँ । नेतृत्व परिवर्तनको मुद्दामा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस औपचारिक रूपमा विशेष महाधिवेशनको बाटोतर्फ अघि बढेको छ । मंगलबार रातिसम्म चलेको निरन्तर वार्ता निष्कर्षविहीन भएपछि सभापति शेरबहादुर देउवा नेतृत्व परिवर्तनमा पछि नहटेपछि पार्टीभित्रको संवाद प्रक्रिया ठप्प बनेको हो ।
संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच दुई दिनदेखि जारी छलफलमा नीति, पार्टी सुधार र विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व दिने विषयमा केही समझदारी बने पनि मूल प्रश्न—नेतृत्व परिवर्तन—मा सहमति हुन सकेन । सभापति देउवाले नेतृत्व हस्तान्तरणका कुनै पनि प्रस्ताव स्वीकार नगरेपछि संवाद भाँडिएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारीमा अघि बढिसकेका छन् । नेतृत्व परिवर्तनमा सहमति खोज्ने प्रयासस्वरूप विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका केही समयका लागि पछि सारिएको थियो भने संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित गरिएको थियो । तर अन्ततः वार्ता सफल हुन सकेन ।
वार्ताका क्रममा विशेष महाधिवेशन पक्षधरले तीन विकल्प अघि सारेका थिए—विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन, सभापतिले राजीनामा दिएर नेतृत्वमा मात्र निर्वाचन, वा अन्तरिम सभापति बनाएर पार्टी सञ्चालन । ती सबै विकल्प अस्वीकार भएपछि सभापतिलाई औपचारिक भूमिकामा सीमित राखी ‘हाइकमान्ड’ मार्फत पार्टी चलाउने प्रस्तावसमेत आएको थियो । तर संस्थापन पक्ष त्यसमा पनि तयार भएन ।
संस्थापन पक्षका नेताहरूले वैशाखमा हुने १५औँ महाधिवेशनलाई देखाउँदै केही महिनामै नेतृत्व बदल्नु उपयुक्त नहुने तर्क राखेका थिए । विशेष महाधिवेशन पक्षधर भने नेतृत्व नै केन्द्रीय मुद्दा भएकाले सम्झौतामा जान नसकिने अडानमा देखिए ।राति ९ बजेसम्म संस्थापन पक्षका नेता वार्तास्थलमा नआएपछि विशेष महाधिवेशन पक्षधरहरूले सहमतिको सम्भावना न्यून भएको निष्कर्ष निकालेका छन ।
कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरे विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ ।

डोल्पा न्यूज । ३० पुष २०८२, बुधबार ०७:४४