ताजा समाचार

आदेश मन्त्रीका,ऋणको बोझ सुशीलका:३ वर्षदेखि भुक्तानी नपाउँदा समस्यामा

विष्णुप्रसाद देवकोटा 

डोल्पा ।

ठुलीभेरी नगरपालिका–६, थर गाउँका युवा सुशील बुढा तीन वर्षभन्दा बढी समयदेखि आफूले गरेको सडक मर्मत कार्यको भुक्तानी नपाउँदा गम्भीर आर्थिक तथा मानसिक संकटमा परेका छन्।

संघीय पूर्वमन्त्री धनबहादुर बुढा र हाल कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढासहित निर्माण व्यवसायी हिम बुढाको ठाडो आदेशमा काम गरिएको दाबी गर्दै सुशीलले न्यायको गुहार गरिरहेका छन्।

२०७९ साल असोज महिनामा लाग्नादेखि लाहारा हुँदै माझफाल भएर कांडातालीसम्मको सडक मर्मत कार्य गरिएको थियो। करिब २५ देखि ३० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त काम तत्कालीन पूर्वाधार विकास कार्यालय डोल्पाका कार्यालय प्रमुख पदमराज देवकोटा सहितका प्राविधिकको रेखदेखमा सम्पन्न भएको पीडितको भनाइ छ। सोही समयमा परेको अविरल वर्षाका कारण सडक अत्यन्तै बिग्रिएको अवस्थामा मन्त्रीस्तरकै दबाबमा तत्काल मर्मत गरिएको उनी बताउँछन्।

“काम सकेपछि भुक्तानी दिने सहमति थियो,” सुशील भन्छन्, “त्यही विश्वासमा आफ्नै लगानी हालेर डोजर चलाएँ, मजदुर राखेँ। तर तीन वर्ष बितिसक्दा पनि भुक्तानी पाइनँ।”

भुक्तानी नपाउँदा सुशीलको जीवन नै संकटमा परेको छ। “डोजर मालिकलगायत अन्यले गाउँमै बस्न नदिने अवस्था भयो। घरको सबै पैसा सकियो। छोरी र श्रीमती बिरामी भएर काठमाडौंमा उपचार गराइरहेको छु,” उनी भन्छन्, “अब त आर्थिक, मानसिक रूपमा पूर्ण रूपमा टुटिसकेको छु। बहुलाउन र मर्न बाहेक विकल्प देख्दिनँ।”

पीडितका अनुसार, काम गर्न आदेश दिएको भन्दै उनी संघीय पूर्वमन्त्री धनबहादुर बुढा र हालका कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढा सँग पटक–पटक सम्पर्कमा पुगे पनि कुनै ठोस पहल नभएको गुनासो गर्छन्।

यस विषयमा संघीय पूर्वमन्त्री धनबहादुर बुढा ले भने आफूलाई उक्त कामबारे कुनै जानकारी नै नभएको बताएका छन्। पूर्वमन्त्री बुढाले सुशील बुढालाई काम गर्न कुनै आदेश नदिएको स्पष्ट पार्दै, “सुशील बुढा आफन्तका हिसाबले भतिज पर्छन्, तर हालसम्म उनले मसँग यस्तो कुनै समस्या राखेका छैनन्,” भने।

उनले डाेल्पान्युजसंग कुरा गर्दै भने, “ तपाई पत्रकारले फोन गरेर सोधेपछि मात्रै मलाई यस्तो विषय भएको थाहा भयो। यसबारे म स्वयं आश्चर्यचकित छु।” पूर्वमन्त्री बुढाले आफूले न आदेश दिएको न कुनै आर्थिक प्रतिबद्धता जनाएको दाबी गरेका छन्।

एकातिर पीडित सुशील बुढा ठाडो राजनीतिक आदेशमा काम गराएको दाबी गर्दै भुक्तानी नपाएको पीडा सुनाइरहेका छन् भने अर्कोतिर पूर्वमन्त्रीले आफू अनभिज्ञ रहेको बताइरहेका छन्।यस्तो अवस्थामा सरकारी कार्यालय, प्राविधिक र निर्माण प्रक्रियामा संलग्न निकायहरूको जवाफदेहीता कता गयो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ।

पुर्वाधार विकास कार्यालय डाेल्पाका तत्कालीन प्रमुख ईन्जिनियर पदमराज देवकाेटासंग प्रतिक्रिया लिन खाेज्दा  सम्पर्क हुन सकेन ।उनी अहिले सरुवा भई अन्यत्र जिल्ला गइसकेका छन ।

पीडित सुशील बुढाले सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूबाट तत्काल भुक्तानी सुनिश्चित गरी न्याय दिलाइदिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया