विष्णुप्रसाद देवकोटा
शे फाेक्सुण्डाे गाउँपालिका पेम्मा वाङ्छेन गुरुङ आफ्नाे फेसबुकवालमा लेख्छन् माथिल्लो डोल्पामा प्रचलित उखान छ “११ मा जमिन फाटिन्छ, १२ मा ढुङ्गा फुटिन्छ।”
यस उखानले माघ महिनामा जमिन चिरा पर्ने र फागुनमा ढुङ्गासमेत चिसोले फुट्ने अवस्थालाई संकेत गर्छ। अर्थात्, यो समय उच्च हिमाली भेगका लागि सबैभन्दा कठोर, जोखिमपूर्ण र जीवन–संकटको मौसम हो। पुष, माघ, फागुन र चैत यी चार महिना डोल्पा मात्र होइन, पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण हिमाली क्षेत्रका लागि अत्यधिक जाडोको कालखण्ड हो। तर यस वर्ष त कार्तिक,मंसिरमै परेको भारी हिमपातले जनजीवन झनै कष्टकर बनेको छ। बाटोघाटो ठप्प छन्, बस्तीहरू एकआपसमा काटिएका छन्।
हिउँ र चिसोका कारण हात, खुट्टा, आँखा तथा शरीरका विभिन्न अंगहरूमा गम्भीर क्षति पुगेर धेरै नागरिक अपांग भएका छन् भने केही अझै उपचारकै क्रममा छन्। यस्तो अवस्थामा म्यादी प्रहरी, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय नागरिकहरूलाई मतदान केन्द्रसम्म कसरी सुरक्षित पुर्याउने?
यो प्रश्न आज डोल्पाको सबैभन्दा गम्भीर यथार्थ बनेको छ।
मानिसको ज्यानभन्दा ठूलो चुनाव हुन सक्दैन।
मानव जीवन एकपटक मात्रै आउँछ, तर चुनावको मिति त सार्न सकिन्छ। देश पहिले नै आर्थिक रूपमा कमजोर अवस्थामा पुगेको बेला, हेलिकप्टरमार्फत ढुवानी, सुरक्षा व्यवस्था र बिरामीको उद्धारमा करोडौँ खर्च गर्नु कति जायज छ भन्ने प्रश्न पनि उत्तिकै गम्भीर छ।
यसबाहेक, करिब १५ प्रतिशत नागरिकहरू अहिले देश–विदेशका विभिन्न स्थानमा हिउँदे चरण, तीर्थयात्रा, बालबच्चा तथा आफन्त भेटघाटमा छन्। कसैलाई जबर्जस्ती मतदान गराउन मिल्दैन, न त चुनावी अधिकारबाट वञ्चित गर्नु नै लोकतान्त्रिक अभ्यास हो।
इतिहासले के देखाएको छ भने— सत्ता जसको हातमा पुगे पनि विकास र बजेटको बाँडफाँड प्रायः भोट र मतको आधारमै हुने गरेको छ। यही प्रवृत्ति फेरि दोहोरिने हो कि भन्ने डर डोल्पावासीमा गहिरिँदै गएको छ।
राज्यले फेरि पनि सिमान्तकृत वर्ग, समाज र मानव जीवनप्रति बेवास्ता गर्ने हो कि भन्ने आशंका गम्भीर रूपमा उठेको छ।
यदि बहुमत–अल्पमतको नाममा हिमाली भेगका नागरिकहरूको जीवनलाई जोखिममा पारिँदै गयो भने, भोट क्षेत्रका जनता र जनप्रतिनिधिहरू चुनाव बहिष्कारतर्फ जान बाध्य हुने अवस्था आउन सक्छ।
किनकि चुनावपछि पनि राजनीति चल्ला, सत्ता फेरिएला।तर ज्यान गुमेपछि न चुनाव रहन्छ, न मत, न प्रतिनिधित्व।

डोल्पा न्यूज । ९ माघ २०८२, शुक्रबार १५:२२