विष्णुप्रसाद देवकोटा
डोल्पा ।
डोल्पामा एक स्थानीय युवक बेपत्ता भएको घटनाले नयाँ मोड लिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँका युवक जुन रोकाया बेपत्ता भएको घटनामा इलाका प्रहरी कार्यालय खदाङका चौकी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक (असई) हेमराज कार्कीसहित पाँच जना प्रहरीविरुद्ध मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार असई कार्कीसँगै प्रहरी जवान लालबहादुर घर्ती, भगिरथ जैसी, जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी जवान अशोक साउद र घुमुवा प्रहरी नरेन्द्र खड्का विरुद्ध व्यक्ति बेपत्तासम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएको हो।
बेपत्ता युवक जुन रोकायकी श्रीमती धनमती रोकायाले जिल्ला प्रहरी कार्यालय डोल्पामा जाहेरी दिएपछि मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। जाहेरी दर्तासँगै घटनाको निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गर्दै स्थानीयले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएका छन्। आज बिहानदेखि डोल्पामा सवारीसाधन पुनः सञ्चालनमा आएका छन्।
यसअघि आइतबार बेलुकी त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रहरी चौकी त्रिपुराकोटमा स्थानीयवासी र प्रहरी प्रशासनबीच भएको वार्तामा घटनामा संलग्न सबै प्रहरीमाथि मुद्दा चलाउने मौखिक सहमति भएको थियो।
घटनाबारे प्रहरीको दाबी अनुसार शुक्रबार साँझ चेकिङका क्रममा ३४ वर्षीय जुन रोकाय आत्तिएर ठूलीभेरी नदीमा हाम फालेका थिए। सो चेकिङका लागि खदाङस्थित प्रहरी चौकीबाट करिब तीन किलोमिटर टाढा पर्ने छेप्के पुल क्षेत्रमा चार जना प्रहरी खटिएका थिए भने टोलीको नेतृत्व असई कार्कीले गरेका थिए।
तर, जुन रोकायका आफन्त तथा स्थानीयले भने प्रहरीकै कारण उनलाई भेरी नदीमा चोपेर बेपत्ता बनाइएको आरोप लगाउँदै आएका छन्। प्रहरी र स्थानीयको भनाइ बाझिँदै आएको अवस्थामा मुद्दा दर्ता भएपछि घटनाले कानुनी प्रक्रिया प्रवेश गरेको छ।
तीन दिनदेखि बेपत्ता रहेका रोकायको खोजी कार्य अझै जारी छ। हाल ११ जना प्रहरीको टोलीले छिमेकी जिल्ला रुकुम पश्चिम र जाजरकोटसम्म भेरी नदी किनारमा खोजी गरिरहेको भए पनि अहिलेसम्म कुनै सुराक फेला परेको छैन।
घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिनको माग बढिरहेका बेला यो प्रकरण डोल्पामा प्रहरी स्थानीय सम्बन्धको गम्भीर परीक्षा बनेको छ।प्रदेश प्रहरी कार्यालय सुर्खेतले एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा गठन गरेकाे तीन सदस्यीय छानबिन समिति समेत डाेल्पामा पुगेर प्रारम्भिक अनुसन्धान शुरु गरेकाे छ ।

डोल्पा न्यूज । २१ पुष २०८२, सोमबार १४:२२