विष्णुप्रसाद देवकोटा
डोल्पा । उच्च हिमाली क्षेत्रको महत्वपूर्ण क्षेत्र मानिने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रहेका सांस्कृतिक सम्पदाको संरक्षण र दीगो व्यवस्थापनका विषयमा काठमाडौ स्थित बाैद्दमा संरक्षण तथा योजना सम्बन्धी कार्यशाला शुरु भएको छ।
डोल्पाे सोसाइटी हलमा भएकाे कार्यशालामा निकुञ्ज क्षेत्रभित्र रहेका गुम्बा, प्रार्थना चक्र, पुरातात्विक संरचना, परम्परागत बस्ती तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो।
इकोमोस नेपालको प्राविधिक अगुवाइमा, द ब्रिटिश काउन्सिल तथा डिपार्टमेन्ट फर कल्चर, मिडिया एन्ड स्पोर्ट्सको आर्थिक सहयोग तथा सम्पदा संरक्षण समाज नेपाल र शे फाेक्सुण्डाे गाउँपालिकाकाे सहकार्यमा निकुञ्जभित्रका सांस्कृतिक सम्पदाको संरक्षणमा कार्यक्रम सञ्चालन गरिएको पालिका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङले जानकारी दिए। कार्यक्रम कल्चरल प्रोटेक्सन फन्ड (२०२४–२०२५) अन्तर्गत पुस २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज जस्तो उच्च हिमाली तथा दुर्गम क्षेत्रमा रहेका सांस्कृतिक सम्पदाहरू प्राकृतिक जोखिम, जलवायु परिवर्तन, अव्यवस्थित विकास र संरक्षणको अभावका कारण जोखिममा परिरहेको भन्दै तिनको वैज्ञानिक संरक्षण, अभिलेखीकरण र दीर्घकालीन योजना आवश्यक रहेकोमा सहभागीले जाेड दिएकाे उपाध्यक्ष गुरुङले बताए ।
स्थानीय सरकारका प्रतिनिधि, संरक्षणकर्मी, अनुसन्धानकर्ता, निकुञ्ज प्रशासन, गुम्बा व्यवस्थापन समिति तथा स्थानीय समुदायका अगुवाहरूको सहभागिता रहेको छ। सहभागीहरूले संरक्षणमा स्थानीय समुदायको भूमिका, परम्परागत ज्ञानको उपयोग र विकाससँग सन्तुलन कायम गर्नुपर्ने धारणा राखेका छन।
कार्यक्रमले शे–फोक्सुण्डो क्षेत्रका सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, संरक्षणका लागि साझा कार्ययोजना बनाउने र भावी पुस्ताका लागि सम्पदा सुरक्षित राख्ने दिशामा महत्वपूर्ण आधार तयार गर्ने आयोजक संस्थाले जनाएकाे छ ।

डोल्पा न्यूज । २० पुष २०८२, आईतवार १९:१४