ताजा समाचार

भ्रष्टाचार अन्त्य र समृद्ध डोल्पाका लागि मेरो उम्मेदवारी हो : कर्ण बुढा नेपाली कांग्रेस

विष्णुप्रसाद देवकोटा 

डोल्पा । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कर्ण बुढाले ‘डोल्पान्युज’सँगको उम्मेदवार संवाद कार्यक्रममा आफ्नो उम्मेदवारीका कारण, उद्देश्य र चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।

“तपाईंको उम्मेदवारी किन र केका लागि ?” भन्ने प्रश्नको जवाफ दिँदै उम्मेदवार बुढाले आफ्नो उम्मेदवारी डोल्पाको समृद्धि, सुशासन र जिल्लामा जरा गाडेर बसेको भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्यका लागि रहेको स्पष्ट पारे।

उनले शिक्षा, स्वास्थ्य, विद्युत् र सडकजस्ता आधारभूत पूर्वाधारको दिगो विकाससँगै युवाका लागि रोजगारी र उद्यमशील वातावरण सिर्जना आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको बताए।

डोल्पान्युजसँगको संवादमा कांग्रेस उम्मेदवार बुढाले नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा उम्मेदवार तथा आफ्नै सहोदर भाई धनबहादुर बुढामाथि कडा आरोपसमेत लगाए। उनले भने, “नातागोताभन्दा माथि उठेर जिल्लाको यथार्थ बोल्नु मेरो राजनीतिक जिम्मेवारी हो।”

उनका अनुसार तीन–तीन पटक जिल्लाबाट निर्वाचित भइसकेका तथा पूर्वमन्त्रीसमेत रहेका धनबहादुर बुढाले आफ्नो राजनीतिक पहुँच र शक्तिलाई जनमुखी विकासमा प्रयोग गर्न नसकी ठेक्का–सेटिङ र कमिसनमुखी गतिविधिमा दुरुपयोग गरेका छन्, जुन डोल्पाली जनताका लागि लज्जास्पद र फोहोर अभ्यास भएको उनको भनाइ छ।

कांग्रेस उम्मेदवार बुढाले झण्डै एक दशकको अवधिमा जिल्लामा भित्रिएको विकास बजेटलाई कार्यकर्तामुखी रूपमा ‘कनिका छरेझैँ’ बाँडेर विकासमा ब्रह्मलुट मच्चाइएको दाबी गरे। ठोस विकास र जनजीविकाका सवालहरू प्राथमिकतामा नपरेको उनको आरोप छ।

त्रिपुरासुन्दरी नगरपालिका–७ स्थित मसिनेचौर विमानस्थललाई उदाहरण दिँदै उनले भने, “विमानस्थललाई दुहुनाे गाईसरह बनाउँदै आफैंले ठेक्का लिने र पछि अलपत्र छोड्ने प्रवृत्तिले आज त्यो संरचना पशुचरणस्थलमा परिणत भएको छ। यसले पूर्वमन्त्री बुढाको नियत र प्रवृत्ति प्रस्ट देखाउँछ।”

डोल्पामा एक व्यक्तिले लामो समयदेखि कायम राखेको राजनीतिक सिण्डिकेट अन्त्य गर्दै पारदर्शी, जवाफदेही र जनमुखी शासन स्थापना गर्न आफू उम्मेदवार बनेको कर्ण बुढाको दाबी छ। उनले व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर परिवर्तनको पक्षमा मत प्रयोग गर्न डोल्पाली जनतालाई आह्वान समेत गरेका छन्।

तपाईको प्रतिक्रिया