डाेल्पान्युज सम्वाददाता
कालीकोट, ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले साेमबार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाकाे प्रशासनिक भवनकाे उद्घाटन गरेका छन ।उक्तअवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, आमाबुवा, दिदीबहिनी तथा युवाहरूसँग भेटघाट गर्दै समसामयिक अवस्थाबारे आफ्ना धारणा राखेका छन्।
भ्रमणका क्रममा मुख्यमन्त्री कडेलले गाउँपालिकाले निर्माण गरेको नवनिर्मित प्रशासनिक भवनको शुभारम्भ समेत गरेका छन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहन केसीसहित स्थानीय युवाहरूले सडकलगायतका स्थानीय समस्या र विकासका प्राथमिकताबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।
सडक मार्गबाट सान्नी त्रिवेणी पुगेका मुख्यमन्त्री कडेलले यात्रामा देखिएका भौतिक पूर्वाधारका चुनौतीहरू आफूले प्रत्यक्ष अनुभूत गरेको उल्लेख गर्दै पश्चिम क्षेत्रकै प्रमुख धार्मिक गन्तव्य बडीमालिकाको प्रवेशद्वारका रूपमा रहेको सान्नी त्रिवेणीलाई समृद्ध बनाउन सबै सरोकारवालाको ऐक्यबद्ध प्रयास आवश्यक रहेको औँल्याए।
आमन्त्रण तथा न्यानो आतिथ्यताका लागि गाउँपालिका अध्यक्षसहित सम्पूर्ण पालिका परिवार, स्थानीयवासी, राजनीतिक दलका नेता–कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायप्रति उनले आभार प्रकट गरे।
सुन्दर प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने गाउँपालिकासहित सम्पूर्ण पालिका बासिन्दालाई मुख्यमन्त्री कडेलले हार्दिक बधाई दिएका छन्।कालिकोटमा सडक मार्गबाट पुगेका मुख्यमन्त्री कडेललाई स्थानीयले भब्य स्वागत गरेका थिए ।

डोल्पा न्यूज । ९ मंसिर २०८२, मंगलवार ०५:२०