ताजा समाचार

दल–निकट जिम्मेवारीबाट पत्रकार लेख बुढाको राजीनामा,स्वतन्त्र पत्रकारीता गर्ने उद्घाेष

विष्णुप्रसाद देवकोटा

डाेल्पा । पत्रकार लेख बुढाले आफू आवद्ध रहेको नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका सबै जिम्मेवारीबाट पद त्याग गरेका छन्। उनले सामाजिक सन्जाल फेसबुकमा लामाे स्टाटस मार्फत राजनीतिक आस्थाभन्दा माथि उठेर शुद्ध, स्वतन्त्र र जनमुखी पत्रकारिता पेशामा समर्पित हुने उद्देश्यसहित संगठनको केन्द्रीय सदस्यसहित जिल्ला तहका सबै भूमिकाबाट अलग भएको घोषणा गरेका हुन्।

पत्रकार बुढाका अनुसार पत्रकारिता आफैमा स्वतन्त्र, निष्पक्ष र समाजका सबै वर्गको साझा पेशा भएकाले राजनीतिक झुकावले पेशागत मर्यादामा प्रभाव पर्न नदिन कदम चालेका हुन्। “नेपालको दलगत संरचना तथा सामाजिक पृष्ठभूमिमा राजनीतिक आस्था हुनु स्वभाविक कुरा हो। तर हामी जस्ता सचेत युवाले गाउँ, समाज र राष्ट्रहितलाई प्राथमिकता दिने व्यक्तिलाई साथ दिन सक्नुपर्छ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

हालको ‘फोहोर राजनीतिक खिचडी’ ले पत्रकारिताको पवित्रता प्रभावित भइरहेको उल्लेख गर्दै उनले आफूलाई भरपर्दो माध्यम मानेका आम नागरिकको विश्वास जोगाउन अबदेखि स्वतन्त्र अभ्यासमा अटल रहने बताएका छन्।

राजनीतिक आस्थाका कारण विगतमा सहकार्य र सल्लाह दिएका सबैप्रति आभार व्यक्त गर्दै बुढाले आगामी दिनमा पनि सहकर्मी तथा समाजका दाजुभाइहरूसँग आपसी सम्बन्ध कायम रहने बताएका छन्।

तपाईको प्रतिक्रिया